गृहपृष्ठ Featured बुटवलमा अनेरास्ववियूको प्रदर्शनमा झडप

बुटवलमा अनेरास्ववियूको प्रदर्शनमा झडप

प्रकाशित मिति:

रुपन्देही : बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सोमबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा आयोजित प्रदर्शनमा झडप भएको हो । अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो । झडपमा केही विद्यार्थी घाइते भएका छन् ।

झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियू लुम्बिनी प्रदेशका अध्यक्ष सरोज पोखरेलले बताए । झडपमा सख्त घाइते भएका रोशन घिमिरेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विद्यार्थीहरुले विरोधस्वरुप मुख्यमन्त्री कार्यालय अघि कालो बेलुन उडाउने कार्यक्रम तय गरेका थिए । सोही क्रममा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको पोखरेलले बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले भने प्रदर्शनमा झडप नभई सामान्य धकेलाधकेल भएको दावी गरे ।

सम्बन्धित् समाचार