गृहपृष्ठ Featured प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक फागुन २ गते

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक फागुन २ गते

प्रकाशित मिति:

काठमाडौं : प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित हुने भएको छ। सरकारले नै प्रतिनिधिसभाको बैठकको मिति सार्न आग्रह गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए।

‘कानुनमन्त्रीले सभामुखलाई फोन गरेर प्रतिनिधिसभाको बैठक सार्न आग्रह गर्नुभएको रहेछ,’ योगीले भने, ‘सरकारले सार्नुपर्‍यो भनेपछि अर्को बैठक अब फागुन २ गतेका लागि डाकिन्छ।’

प्रतिनिधिसभाको माघ १६ गतेको बैठक पनि सूचनामार्फत् सारिएको थियो। त्यतिबेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो। तर, माघ २५ गते साँझ नै फेरि बैठक सर्न लागेको हो।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबल हुनेरनहुने अन्योल बढेर गएको अवस्थामा बैठक स्थगित गरिएको हो।

सरकारले सभामुख अग्नि सापकोटालाई संसदमा एमसिसी टेबल गर्न आग्रह गरिसकेको छ। सभामुख पकोटाले एमसिसी टेबल गर्छन् कि गर्दैनन् भन्ने अन्यौल यथावत् रहेको बेला बैठक स्थगित भएको हो।

बुधबार बिहान सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्ने तयारी गरिरहेका थिए। सभामुख सापकोटालाई कानुन मन्त्री दिलेन्द्र बडुले भेटेरै प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्न आग्रह गरिसकेका छन्।

सापकोटा सरकारको प्रस्तावमा सकरात्मक छैनन्। सभामुख सापकोटाले संसदमा एमसिसी टेबल गर्न वातावरण बन्नुपर्ने बताउँदै आएका छन्।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति सभामुखलाई संसद बैठक सञ्चालनका लागि सुझाव दिने समिति हो। जसमा प्रमुख दलका सचेतकहरू र दलले रोजेका प्रतिनिधि रहन्छन्। यस्तो समितिले तय गरेको अजेन्डा अनुसार सामान्यतस् प्रतिनिधिसभाको बैठक सञ्चालन हुन्छ।

सभामुखले कार्यव्यवस्थामा एमसिसीको विषय सरकारले प्रवेश गराए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधलाई कारण देखाउने अवस्था थियो। प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले इतिहासकै सबैभन्दा लामो समयदेखि अवरोध गर्दै आएको छ।

एमालेले सभामुखको राजीनामा वा नेकपा एकीकृत समाजवादी पार्टीका सांसदलाई बैठकबाट निकाल्नुपर्ने माग गर्दै आएको छ। दुबै माग पूरा हुने अवस्था प्रतिनिधिसभामा विद्यमान छैन।

सम्बन्धित् समाचार