गृहपृष्ठ Featured देउवाको ढोका चाहार्ने प्रचण्ड र माधव नेपाल कमरेड होइनन् : ओली

देउवाको ढोका चाहार्ने प्रचण्ड र माधव नेपाल कमरेड होइनन् : ओली

प्रकाशित मिति:

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘कमरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहार्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ‘कमरेड’ भन्न नमिल्ने तर्क गरेका हुन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा ९मसाल०का नेता योगेन्द्र ढकाल र अजिता जिसीलाई पार्टीमा स्वागत गर्दै उनले प्रचण्ड र नेपालप्रति कटाक्ष गर्दै कांग्रेसले हात नदिए हिँड्न नसक्नेहरूलाई वामपन्थी भन्न नमिल्ने बताए। अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाबाहेक कांग्रेस नेताहरूले चुनावमा गठबन्धन नगर्ने भन्दा पनि दाहाल–नेपालले त्यसैलाई निरन्तरता दिने भनिरहेको सुन्दा अचम्म लाग्ने गरेको पनि बताए ।

उनले भने, ‘हामी सुनिरहेका छौँ– हामी कुनै हालतमा पनि गठबन्धन तोड्दैनौ भनेर । नेपाली कांग्रेसको शेरबहादुर देउवाबाहेक प्रायः हामी संयुक्त चुनावमा जाँदैनौँ, गठबन्धन हुँदैन भनेर कांग्रेसका नेताहरु भन्छन् । वामपन्थीहरू तिनीहरूले हात नदिए हामी कसरी हिँड्ने ? हामी त गठबन्धन छोड्न सक्दैनौँ, चुनावसम्मै यो गठबन्धन चाहिन्छ भनेर वामपन्थी खोल ओढेका यो गठबन्धनको कुरा गरिरहन्छन् । अब हामीले छुट्याउने कसरी ? त्यसैकारण हामी भनिराखेका छौँ– यहाँ छुट्याउनुपर्ने आवश्यकता छैन । कतिपय मान्छेहरू भुलवशले प्रचण्ड कमरेड, माधव कमरेड भन्छन् । के का कमरेड नि ? शेरबहादुर देउवाभन्दा अगाडि अगाडि शेरबहादुर देउवाको ढोकामा पस्न पाइँदैन। ढोकामा त त्यहाँ यिनीहरू बसेका छन् नि । भित्र जाँदा शेरबहादुर के गर्दै छन्, पछि हेरौैँला । तर गेटमा त यिनीहरू बसेका छन् त । त्यसकारण यी चाहिँ कमरेड भनेर हुन्छ । कमरेड–समरेड सबै गुटमुट्याएर एकैठाउँ राखी दिनुपर्छ, आगामी चुनावबाट।’

त्यस अवसरमा ओलीले सही पार्टी छनाेट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गरेका थिए । यता, ढकालले भने देशभक्त नेता ओली भएकाले आफूहरू पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताएका थिए।

सम्बन्धित् समाचार