नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताका विषयमा प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधिन भईरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो । उहाँले आफ्नो पार्टीले कानूनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति बनाइएको दावी समेत गर्नुभयो ।
आईतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी वैधानिक रुपमा निर्माण भएको पार्टी हौं । हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं । र, सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं । यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं । त्यसो हुनाले हामी अघि बढेका छौं । स्थानीय तहको चुनाव वैशाख ३० गते तोकिसकिएको छ । अव हाम्रो पार्टीको सम्पूर्ण काम चुनावको तयारीमा जुट्नु हो । सबै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जानेछ ।’
अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताउनु भयो । उहाँले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको समेत स्पष्ट पार्नुभयो ।








