गृहपृष्ठ Featured लोप हुँदैे गाउँघरबाट ढिँकी, जाँतो

लोप हुँदैे गाउँघरबाट ढिँकी, जाँतो

प्रकाशित मिति:

घनश्याम भर(कपिलवस्तु) : आधुनिक प्रविधिले मानिसलाई अहिले हरेक कार्यमा सहज बनाएको छ । यसले छिटो–छरितो र भरपर्दो बनाउँदै गएको छ । अधिकतम् समय खर्चेर लगाइने अमुल्य समयलाई आधुनिक प्रविधिले सदुपयोग गरी थोरै समयमा काम गर्न सरल बनाई रहेको हामी सबैको माझमा सर्वविदितै छ । अहिले संसार नै आधुनिक उपकरणमा निर्भर हुँदै गएको छ । आधुनिक प्रविधिका कारण परम्परागत रुपमा महत्वपूर्ण मानिएको उपकारण गाउँघरबाट लोप हुँदै गएको छ ।

बिहान र बेलुकी पख ढिँकी–जाँतोको आवाजले गुञ्जायमान हुने गाउँघर पछिल्लो समय सुनसान बन्दै गएको पाइन्छ । करिब २ दशक अगाडी गाउँ–गाउँ, घर–घरमा पाइने ढिँकी–जाँतो अहिले लोप हुँदै जाँदा परम्परागत रुपमा महत्वपूर्ण मानिएको अन्न कुटानी पिसानी गर्ने उपकरण भेटाउन नै मुस्किल भएको छ । अन्न कुटानी पिसानीका लागि चलाइने ढिँकी–जाँतोको आवाज नसुनिँदा गाउँघर सुनसान बनेका छन् ।

गाउँका सबै मानिस तराईको अन्न, चामलमा भर परेर परनिर्भर हुँदै गएको भनेर सजिलै आँकलन पनि गर्न सकिन्छ । अहिले गाउँघरमा भित्रिएका आधुनिक मेसिनको प्रचलन बढ्दै गएपछि कुटानी–पिसानी गर्ने ढिँकी–जाँतो, कोल जस्ता परम्परागत उपकरण हराउँदै गएको हो । मानिस सुविधाभोगी स्वभाव र आधुनिकताको प्रभावले ग्रामीण भेगबाट ढिँकी, जाँतो, हाते मुसल, कोल लगायतका परम्परागत उपकरण लोप हुँदै गएको हो ।

बेलुका खाना खाएर सुतेका घर गृहणी महिलालाई बिहानैको मिर्मिरेमा भालेको डाकसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने विशेष चिन्ता हुन्थ्यो । धेरै भन्दा धेरै कुटानी–पिसानी गर्ने भनेर बिहानैको मिर्मिरेमा उठ्ने बाध्यता थियोे । केही दिनसम्म सजिलो हुनुको साथै अन्य काम पनि गर्न सकिने भन्दै बिहानै उठ्न साह्रै दुख भोग्नु परेको थियो । बिहानको मिर्मिरेमा उठ्नको बाध्यता पनि कसलाई थाहा नहोला र रु बिहान, बेलुकाको समयमा कुटानी–पिसानीको बाध्यता भोगेका कपिलवस्तुका गाउँका महिला पछिल्लो समय गाउँघरमा भित्रिएका आधुनिक मिलले सुविधा भएको बताउँछन् ।

विजयनगर गाउँपालिका वडा नम्बर २ की संगीता भरले पहिले ढिकी–जाँतो र हाते मुसलले गर्दा धेरै दुःख हुन्थ्यो । उनले अहिले गाउँमै मिल आएपछि कुटानी–पिसानीको लागि धेरै चिन्ता नहुने र छिटै काम हुने हुँदा सुविधा भएको बताइन् । उनले भनिन्, “कुटानी–पिसानीबाट बचत भएको समयलाई बालबच्चाको सरसफाइ, करेसाबारी गोडमेल, अन्नबाली खेतीपातीमा समय दिएको छौँ” पहिला दसैँ–तिहार जस्ता विभिन्न चाडपर्वका लागि ढिँकी, जाँतोमा कुटानी पिसानी गरेको अन्नबालीलाई धार्मिक पुजापाठको दृष्टिकोणले महत्वपूर्ण मानिएको संगीता भरको भनाई छ ।

आधुनिक उपकरण मिल ग्रामीण क्षेत्रमा राखिएपछि कुटानी पिसानी गर्ने परम्परागत उपकरणको प्रयोग गर्न छाडिएको हो । यससँगै गाउँघरको रहन–सहनमा समेत परिवर्तन हुँदै आएको छ । यस्तै वडा नम्बर २ कै निवासी मोहम्मद युसुफ भाँटले पहिला दसैँ–तिहार जस्ता चाडबाडका लागि ढिँकी, जाँतोमा कुटानी पिसानी गरेको अन्नबाट बनाइएको खानपिनलाई विशेष महत्वका साथ लिने गरेको बताए । उनले आधुनिक मिलले गर्दा गाउँमा उत्पादन भएका अन्नको खास स्वाद हराएको जिकिर गरे । उनले भने, “ढिँकी र जाँतोमा कुटानी पिसानी गरिएका अन्नमा जुन स्वाद पाइन्छ, त्यो स्वाद अहिले पाइँदैन, कुटानी–पिसानी उपकरणले दुःख भए पनि अहिले खानाको स्वाद नै बिग्रिएको छ, हराएको छ” ।

गाउँघरमा आधुनिक उपकारणका कारण पहिलेको जस्तो अवस्था अहिले नरहेको भाँटले बताए । पहिले तोरी पेल्न गाउँघरमा कोल बनाइएको हुन्थ्यो । पहिले गाउँघरमा आफैंले उत्पादन गरेको तोरी पेलेर शुद्ध तेल निकाल्ने गरिन्थ्यो । तर, अहिले बजारमा पाइने विभिन्न प्रकारका तेल किनेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ । कोलमा तोरी पेल्ने प्रचलन देख्नसमेत पाइँदैन ।

झण्डै दुई दशक अगाडीसम्म चलनचल्तीमा आएका यी घरेलु यन्त्र अहिले कतै देख्न नपाइने ज्येष्ठ नागरिकहरू बताउँछन् । आधुनिकताले गाउँघरका मान्छेहरुलाई एकातिर अल्छी बनाएको छ भने उत्पादनमा बृद्धि, विकास गरी परनिर्भर बनाउँदै गएको छ । वडा नम्बर २ मा रहेको थारु सङ्ग्राहलय लोहरौलाका अध्यक्ष तथा गाउँका बरघर ९अगुवा० कृष्ण चौधरीले परम्परागत यन्त्रलाई लोप हुन नदिन संरक्षण गर्न आवश्यक रहेको बताए ।

उनले यसका लागि सरकारी निकायले योजना बनाउनुपर्ने आवश्यकता देखिएको बताए । उनले भने, “हाम्रा परम्परागत यन्त्रले त गाउँघरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिन्छ । मान्छेहरु घुम्न आए भने रमाइलो मान्दै हेर्छन्, यहाँ यस्तो परम्परासमेत हुँदो रहेछ” । अझै पनि यहाँका मान्छे यस्ता परम्परागत उपकरण, साधन प्रयोग गर्छन् भनेर सहर बजारका मानिस आकर्षित हुने चौधरीको भनाई छ ।

आधुनिक उपकरणले सुविधा भए पनि गाउँघरका परम्परागत उपकरण ढिँकी, जाँतो कोल जस्ता उपकरणलाई संरक्षणका लागि समाजका अगुवाले पहल गर्नुपर्ने र सरकारी निकायले योजना बनाउनुपर्ने जरुरी देखिन्छ ।

सम्बन्धित् समाचार