दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल ९प्रचण्ड० र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न सक्ने बताएका छन्।
प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रष्ट पारे। ‘सरकारले ल्याएको प्रस्तावमा गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ,’ उनले भने।
वरिष्ठ नेता पौडेलले एमसीसी ‘असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रहसमेत गरे। एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै उनले यसका विषयमा अनावश्यक भ्रम फैलाइएको बताए। ‘एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो,’ उनले भने, ‘जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ।’ -रासस