गृहपृष्ठ Featured झलनाथको चेतावनी : नेपाल युक्रेन बन्न सक्छ !

झलनाथको चेतावनी : नेपाल युक्रेन बन्न सक्छ !

प्रकाशित मिति:

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना एमसीसीमा व्यापक संशोधन हुनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफलमा भाग लिँदै नेता खनालले निर्वाध छलफलको वातावरण बनाउन सरकार र सभामुखको ध्यानाकर्षणसमेत गराए । ‘छलफलको वातावरण छैन । सुन्न गाह्रो हुने वातावरण छ । आवाज बन्द हुने वातावरण गर्नुस्,’ उनले भने ।

उनले व्याख्यात्मक घोषणामार्फत संशोधन गर्न अमेरिका र एमसीसीले मान्छ भनेर प्रश्नसमेत गरे । ‘कुनै पनि घोषणा सम्झौताको अंग बन्दैन । संशोधनमा अमेरिका र एमसीसी तयार छ कि छैन ? संसदले थाहा पाउनुपर्छ । अमेरिका तयार छ भन्ने ग्यारेन्टी के हो ?’ उनले प्रश्नको वर्षा गरे ।

एमसीसीमा आपत्तिपूर्ण बुँदा र धाराहरु रहेको भन्दै खनालले व्याख्यात्मक घोषणामार्फत पनि नसच्चिए नेपाल अफ्ठेरोमा पर्ने चेतावनी दिए ।

एमसीसी सम्झौतामा शर्तै शर्त अघि सारिएको भन्दै खनालले दुई महाशक्तिको बीचमा रहेको नेपालको अस्तित्व नै संकट पर्ने आशंका गरे । ‘यो सम्झौतामा पटक पटक अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणा अघि सारिएको छ । हामी कसैको सुरक्षा छाता होइन आफ्नै सुरक्षा छात ओड्न चाहन्छौं,’ उनले भने ।

खनालले अमेरिकी प्रचलित कानुन नेपालले पालना गर्न नसक्ने पनि स्पष्ट पारे । ‘भविष्यमा पनि अमेरिकी कानुन मान्नुपर्ने भनिएको छ । भोलि के के बन्छन्, के के बन्छन् हामी मान्न बाध्य छैनौं,’ उनले भने ।

यो प्रावधान नसच्याएमा छिमेक सम्बन्ध पनि बिग्रिने उनको भनाइ छ । ‘चीनसँग सम्बन्ध के होला ? जुन छिमेकीले राम्रो सम्बन्ध बनाउन सक्दैन त्यसको भलो हुन सक्दैन,’ उनले भने । यसमा खनालले युद्धरत युक्रेनको उदारहण दिए । ‘शक्ति राष्ट्रको खेलमा लाग्दा आज युक्रेनको के हाल भएको छ ? भोलिपल्टै तीनवटा राष्ट्र भएको छ । छिमेकसँग कसरी सम्बन्ध राख्ने, विश्वसँग कसरी सन्तुलन निर्वाह गर्ने भनेर दुरदर्शी रुपमा अघि बढ्छ । नत्र हामी पनि युक्रेन बन्ने खतरा छ,’ उनले भने ।

अमेरिकी शर्त मान्दा नेपालले आफ्नो स्वतन्त्रता, स्वाधिनता र हैसियत जोगाउन नसक्ने उनको भनाइ छ । ‘क्षणिक फाइदा होइन यो देशको भविष्य र आम जनताको भावना हेनुपर्छ । यो गम्भीर विषय हो । छलफलको बाटो सही भएन,’ उनले भने ।

अहिले विश्व नै एसिया केन्द्रीत भएको र नेपाल चीन र भारतबाट घेरिएको भन्दै खनालले अन्तर्राष्ट्रिय सहयोगहरु अन्तरर्राष्ट्रिय कानुन र दुबै देशको सार्वभौमसत्ता सम्मान हुनेगरी लिनुपर्नेमा जोड दिए । ‘अमेरिकाले दिने कुरा लिनुहुँदैन भनिरहेको छैन । तर हाम्रो स्वाधिनता, संविधान रक्षाको ग्यारेन्टी चाहिन्छ,’ उनले भने ।

एमसीसीमा सुरक्षा, समारिक र ऐनका थुप्रै आपत्तिजक कुराहरु भएको भन्दै उनले थपे, ‘हामी सहयोग लिन्छौं । नेपालको स्वाधिमान र स्वतन्त्रलाई सम्मान गरेर नेपाली जनताको समृद्धिका लागि हामी खुला छौं । तर अहिलेको सम्झौता शर्तै शर्तले घेरिएको छ । हामीलाई ५० करोड त के एक खर्ब दिए पनि शर्त मान्दैनौ । नेपालको स्वाधिनता दाउमा राखेर कुनै सहयोग चाहिँदैन । एक रुपैयाँ पनि चाहिँदैन ।’

उनले एमसीसी सम्झौताको विरोधमा उत्रिएका देशभक्त नेपालीमाथि दमन नगर्न पनि माग गरे । जनताको आवाज सुन्नुपर्ने उनको माग छ ।

संसदमा एमसीसी र एमसीएबीचमा भएका थुप्रै पत्राचार, सम्झौताका विभिन्न दस्तावेजहरु ल्याएर दफावार छलफल गर्न उनले माग गरे । उनले सबै दल छलफलमा सहभागी हुने वातावरण बनाउन पनि माग गरे ।

‘प्रधानमन्त्रीज्यू सबै राजनीतिक दलसँग छलफद्य गरेर सहमतिपूर्ण वातावरण बनाउनुस् । यसका प्रत्येक दफामा यथेष्ठ छलफलका साथ निष्कर्षमा पुग्नुपर्छ । आज छलफलमा त्यो वातावरण छैन । त्यो वातावरण बनाइयोस् । सम्पूर्ण कुराहरु सदनमा राख्नुपर्छ । २७५ सांसदले थाहा पाउनुपर्छ । आम नेपालीले थाहा पाउनुपर्छ । अनिमात्रै पारित गर्नेगरी निर्णयमा पुग्न सकिन्छ,’ उनले भने ।

सम्बन्धित् समाचार