गृहपृष्ठ Featured बाणगंगामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु

बाणगंगामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : आज सोमबारदेखि बाणगंगा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बाणगंगाबाट आज सोमबारदेखि राष्ट्रिय परिचय पत्र विवरणको दर्ता कार्य शुरु गरेको हो । जसका लागी शुक्रबार मात्र बाणगंगा नगरपालिका अन्तर्गत वडाध्यक्ष तथा सचिव एवम् रुजु अधिकारीहरुलाई प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रशिक्षित गर्नुभएको थियो । राष्ट्रिय परिचय पत्रका लागी आवश्यक जनशक्ति तथा उपकरणहरु आईतबार नै पठाईएको प्रजिअ पाण्डेले बताउनुभयो । बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईका अनुसार बाणगंगा नगरपालिकाका वडा नं.१,२,४,५ र ७ मा राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु भएको छ ।

अन्य सबै वडा पनि नाम दर्ताको कार्य प्रारम्भ गर्ने तयारी भईरहेको भट्टराईले जानकारी दिनुभयो । वडा नं.१ मा आज ७० जनाको नाम दर्ता गर्ने कार्य सम्पन्न गरेको वडाध्यक्ष बालकुमारी पन्त अधिकारीले जानकारी दिनुभएको छ । वडा नं.१ मा वडाध्यक्ष अधिकारीको नाम दर्ताबाट राष्ट्रिय परिचय पत्रका लागी नाम दर्ता कार्य सुरु गरिएको हो । बाणगंगामा करिब ५३ हजारको नाम दर्ता गर्ने लक्ष्य रहेको छ । नागरिकता प्रमाणपत्र लिन आउनेहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्रका लागि निवेदन दिन सक्नेछन् र स्थानीय तहहरुमा घुम्ति सेवा सञ्चालन गरेर पनि निवेदन संकलन गरिने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । यसले आम नागरिकको सम्पूर्ण विवरण सुरक्षित राख्नुका साथै अपराध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुसहित सरकारले ७७ जिल्लाबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य शुरु गरेर सम्पूर्ण नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय परिचयपत्रमा नागरिकता, राहदानी, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण एकै ठाउँ डिजिटलाइज प्रविधिमार्फत राख्न सकिन्छ ।

सम्बन्धित् समाचार