काठमाडौं : सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। फागुन १६ गते बसेका मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विशेष अदालतको सदस्यहरुमा रमेशकुमार पोखरेल, जमुना भट्टराई, शालिकराम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारुलाई तोकेको जनाएका हुन्।
त्यसैगरी सरकाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समितिमा पाँच जना सदस्य मनोनित गरेको छ। समितिमा दुर्गाप्रसाद भट्टराई, प्राडा कुसुम शाक्य, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बुलाई मनोनयन गरेको मन्त्री कार्कीले जनाए।
त्यसैगरी सरकाले विभिन्न प्रसारण लाइन आयोजनाहरुका लागि जग्गा प्राप्तिका लागि अधिकारी तोक्ने निर्णयसमेत गरेको कार्कीले जनाए।
राजश्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोकेको छ।
सरकारले खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष एवं सदस्य सिफारिस समितिको सदस्य पदमा वाणगंगा नगरपालिका वडा नम्बर ११ कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्याललाई नियुक्त गरेको छ।
भूपू गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका मागहरुकाबारेमा बेलायतसँग वार्ता गर्न बेलायतस्थित नेपाली राजदूतको नेतृत्वमा समिति गठन गर्ने निर्णय समेत सरकारले गरेको छ।








