काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय डा. शेखर कोइरालाले चुनावी गठबन्धनको विरोध गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी गठबन्धन गर्ने तयारी गरिरहेका बेला शेखरले कानुन व्यवसायीकै चुनावमा गठबन्धनको विपक्षमा उभिएका छन् ।
उनले नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट कानुन व्यवसायी संगठनसँग तालमेल गर्न नहुने अडान लिएका हुन् ।
कांग्रेसनिकट कानुन व्यवसायीको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले सत्ता गठबन्धनका अन्य दलनिकट संगठनसँग तालमेल नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने उनको जोड छ ।
‘विधिको शासन स्थापना गर्न डीएलएको महत्वपूर्ण भूमिका छ । यो लोकतान्त्रिक व्यवसायीहरुको पेशागत र बौद्धिक संगठन हो,’ उनले भनेका छन्, ‘नेवाएको निर्वाचनमा डीएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ । अन्य पार्टीनिकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन ।’
यसो गरिए डीएलएको पेशागत मर्म र मर्यादामा आँच आउने शेखरको तर्क छ ।
कांग्रेसभित्र शेखर समूहले कुनै पनि निर्वाचनमा गठबन्धन गर्न नहुने र कांग्रेस एक्लै लड्नुपर्ने धारणा राख्दै आएको छ ।








