गृहपृष्ठ Featured प्रकाश सपुतको ‘कठोर’ समीक्षा : खुमलटार सच्चिने बाटोमा लाग्ला कि सपुतको विरुद्ध ?

प्रकाश सपुतको ‘कठोर’ समीक्षा : खुमलटार सच्चिने बाटोमा लाग्ला कि सपुतको विरुद्ध ?

प्रकाशित मिति:

काठमाडौं : चुनावको मुखमा माओवादीको दशवर्षे ‘जनयुद्ध’को लेखाजोखामाथिका बहस समान्य नै भइसक्यो। संघीयता र गणतन्त्र माओवादीकै बलमा स्थापित भएकाले पक्ष र विपक्षमा तर्कको बाढी नै लाग्छ। राजनीतिको कोर्स नै परिवर्तन गराउने माओवादी ुजनयुद्धु चाहिँ जनजीवनसँग जोडिएका महत्वपूर्ण मुद्दा उठाएर अघि बढेको थियो। तर, राजनीतिक परिवर्तनपछि त्यसको व्यवस्थापनमा भने लगातार चुकिरह्यो माओवादी। ओरालो बाटोतिर लागिरह्यो उसको वैचारिक यात्रा। धेरै सहयात्री त्यही यात्रामा छुट्दै पनि गए। यस्तै, तीता सन्दर्भलाई उनेर म्युजिक भिडियो ल्याएका छन् प्रकाश सपुतले। जनस्तरमात्र होइन नेकपा माओवादी केन्द्रभित्रै कम्पन ल्याउनसक्छ यसले किनकि म्युजिक भिडियो भने पनि यो शुद्ध माओवादीमाथिको कठोर समीक्षा हो।

माओवादीको हिंसात्मक युद्ध र त्यसको परिणाम भोग्ने एउटा ठूलो वर्ग अटाउँछ १६ मिनेट लामो सांगीतिक कथामा।

‘परिवर्तन मासु पसल’ का सञ्चालक कमरेड बावु। मासु बेचेर लेनिनको पुस्तक ‘राज्य र क्रान्ति’ किनेर अध्ययन गरिरहेका हुन्छन् परिवर्तनपछि पनि।

बावुको र उनको पत्नी ऊर्जाको दैनिकीबाट सुरु हुन्छ कथा – ‘पीर’ ।

डेरा पस्दै गर्दा बावुको र ऊर्जाको कष्टकर शहरी दैनिकीलाई पृष्ठभूमिका संवादबाट स्थापित गरेका छन् प्रकाशले। ‘कमरेड’ दम्पतीले तीन महिनादेखि भाडा दिन सकेका छैनन्। शहरमा टिक्नेगरी आम्दानी गर्न नसकेका बावुको सोच परिवर्तनशील छ। पेशा फेरिरहन्छन् उनी।

ऊर्जा चाहन्छिन् बावु विदेश जावस्। अरुलेजस्तै गरी कमावस्।

‘म विदेशमा जान्नँ। भोकै मर्नुपरे पनि यही देशमा मर्छु,’ बावुको अडान कायम रहन्छ।

क्रान्तिका लागि जति बावु भिडेका थिए उर्जाको योगदान कम थिएन।

‘हामीलाई छैन देशको माया?’ ऊर्जा झोक्किनुको अर्थ कथामा पछि खुल्छ। ज्यानको बाजी मार्दा पनि केही नपाएको झोक देखिन्छ उनमा। युद्धमा लागेको गोलीको चिनो छातीमै गढेको छ। ऊर्जाको खत छोपिन्छ लुगाले। तर बावु खुट्टा लतार्दै पसलदेखि डेरा गरेको दृश्यले उनको हाल बयान गर्छ। के पायौं त? भन्ने प्रश्नमा बावुसँग बनिबनाउ उत्तर छ – गणतन्त्र।

विदेशिन नचाहने बावुको ढिपीलाई उछिन्दै आफैँ विदेशित तम्सिन्छिन् ऊर्जा।

तिम्रो मयाले मलाई पिर दियो

कमलो मुटु, कमलो छाती, ओइ चिर दियो, चिर दियो…

पासपोर्ट बनाउँदाका सकसदेखि काखे छोरीलाई छाडेर विमानस्थलबाट उड्नुको पीडा पोखिन्छ कथामा। विमानस्थलमा विदेशिनेहरु मन कति कठोर बनाउन बाध्य छन् – बेजोडको दृश्य देखिन्छ। यता झोलामा कम्युनिस्ट किताब छुटाउँदैनन् बावु।

श्रीमती रोजगारीमा हिँडेको तीन महिनासम्म अत्तोपत्तो नहुनुले बावु बहकिन्छन्। भट्टीबाट यौनकर्मीको दैलोसम्म पुग्छन् उनी। त्यहाँ उनले जे देख्छन् – त्यसले सबैलाई तरङ्गित बनाइदिन्छ।

एकतारे झन्डा शिरमा बाँधेर बावु र ऊर्जाको बिहेकै दिन सुरक्षाकर्मीबाट आक्रमण हुन्छ। प्रमुख अतिथि रहेका नेतालाई जोगाउने क्रममा ऊर्जाको छाती र बावुको खुट्टामा गोली लाग्छ। घाइते अलपत्र हुँदा नेता पलायन हुन्छन्।

एउटै घटना कोहीलाई फाइदा, कोहीलाई भयो हानी

कतै मर्‍यो आत्मसम्मान, कतै स्वाभिमानी

लामो समयदेखि सम्पर्कविहीन ऊर्जा सोसल मिडियामार्फत टेलिभिजनको पर्दमा देखिन्छिन् – विदेशमा बन्धक परेको अवस्थामा। त्यसपछि उनको उद्धारका लागि पहल गर्दा बावुले जे भोग्छन् – त्यो अपेक्षाभन्दा फरक हुन्छ उनका लागि। अनि गीतका शब्दले त्यसमाथि व्याख्या गर्छ –

आफ्नै विचार वैरी भयो, कहाँ जाम् कता भागम्

ज्यानकै बाजी थापेको थेँ, कल्लाई हिसाब मागम्

सांगीतिक भिडियोका शब्द र दृश्यले स्तव्ध बनाउँछ सबैलाई। माओवादी जनयुद्धको एउटा पक्षमाथि कठोर रुपमा प्रस्तुत भएका छन् प्रकाश सपुत। गीत, निर्देशन र अभिनय सबैतिर छाएका छन् प्रकाश। अभिनयमा उनलाई बलियो गरी साथ दिएकी छिन् ऊर्जा अर्थात् सुरक्षा पन्तले।

माओवादी जनयुद्धमा सक्रिय एउटा लडाकु कसरी देश छोड्ने अवस्थामा पुग्छन्? प्रकाशले त्यसको उत्तर दिएका छन्। त्यही उठाएका छन् ‘देश’को परिभाषा।

देश भन्नु त के रहेछ र, चार किल्लाको माटो

त्यही माटो नि उनको मात्र, जो छन् टाठोबाठो

माओवादी राजनीतिको वैचारिक क्षयीकरण, दलको नेतृत्वसँग तस्कर र माफियाको साँठगाँठलाई विभिन्न विम्बमार्फत् प्रस्तुत गरेका छन् उनले।

यो म्युजिक भिडियो त्यतिखेर आएको छ जतिखेर नेकपा माओवादी सत्तामा छ, पार्टीको सांगठिनक क्षयीकरण जोगाउन हम्मेहम्मेको अवस्थाबाट गुज्रिरहेको छ। त्यसैले माओवादी नेतृत्वका लागि प्रकाश सपुत र सुरक्षा पन्तको जोडीले व्याख्या गरेको दृश्य प्रितकर नहुने निश्चित छ। विवादमा पक्कै तानिने छ यो म्युजिक भिडियो।

त्यसो त राजनीतिक विषयवस्तुलाई लिएर यस्तै कटाक्ष पहिलो पटक भएको भने होइन। गायक पशुपति शर्माको ‘लुट्न सके लुट…’ बोलको गीतले बालुवाटारमा खैलाबैला नै मच्चाएको थियो कुनै बेला। त्यसैगरी प्रकाश सपुतको गीतले सिंगो माओवादी केन्द्रमा कम्पन ल्याउने निश्चित छ।

२०७५ सालमा सत्तारुढ नेकपा एमालेले ‘लुट्नसम्म लुट…’ बोलको गीत बन्द गराएरै छाडेको थियो। पशुपति शर्माको उक्त गीत सत्ता लक्षित थियो, सत्तामा चाहिँ एमाले। नेकपा एमालेको नाम गीतमा कतै थिएन। राष्ट्रपतिले चढ्ने हेलिकप्टर, ३३ किलो सुनकाण्ड, वाइड बडी विमानका सन्दर्भलाई लिएर गीतमा व्यङ्ग्य थियो। त्यसबाहेक पार्टीविरुद्ध कुनै अभिव्यक्ति गीतमा नआए पनि एमालेले गीत बन्द गराएरै छोडेको थियो।

प्रकाश सुपुतको ‘पिर’मा भने नेकपा माओवादीको जनयुद्धको एउटा संवेदनशील पाटोलाई उदाङ्गो पारिएको छ। के नेकपा माओवादी केन्द्रले पनि एमालेको सिको गर्दै प्रकाश सपुतको यो गीत बन्द गराउन बल गर्छ? यदि गर्‍यो भने माओवादीलाई सत्ता साझेदार बनाउँदै नेतृत्व हाँकिरहेको नेपाली कांग्रेस नेतृत्वले वाक स्वतन्त्रताको सुरक्षा गर्न सक्ला? हाललाई प्रश्न अनुत्तरित नै छ।

सम्बन्धित् समाचार