गृहपृष्ठ Featured छोरीहरुको लागि माध्यमिक विद्यालय खुला गर्न माग गर्दै अफगानिस्तानमा प्रदर्शन

छोरीहरुको लागि माध्यमिक विद्यालय खुला गर्न माग गर्दै अफगानिस्तानमा प्रदर्शन

प्रकाशित मिति:

अफगानिस्तानमा छोरीहरुको लागि माध्यमिक तहको विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन गरिएको छ। झण्डै दुई दर्जन प्रदर्शनकारीहरूले शनिवार बिहान तालिवानको शिक्षा मन्त्रालय नजिक भेला भएर छोरीहरूको लागि माध्यमिक विद्यालयहरू फेरि खोल्न आग्रह गर्दै प्रदर्शन गरेको बीबीसीले उल्लेख गरेको छ।

किशोरीहरु नयाँ शैक्षिकसत्रको सुरुवातमा विद्यालय फर्किएको केही घण्टामै तालिबानले विद्यालय बन्द गर्न आदेश दिएको थियो। तालिबानको यो कदमको विश्वभर आलोचना गरिएको छ।

सशस्त्र तालिबान सदस्यहरूको निगरानीका बिच प्रदर्शनकारीहरूले ‘शिक्षा हाम्रो अधिकार हो१ छोरीहरुको लागि विद्यालयका ढोका खोल१’ लगायतका नारा लगाएका थिए।

प्रदर्शनमा सहभागी एक शिक्षिकाले बीबीसीलाई भनिन्, ‘स्वतन्त्रता र विद्यालय जान चाहने छोरीहरूको लागि म मर्न पनि तयार छु।’

‘हाम्रा छोरीहरूको शिक्षाको अधिकारका लागि हामी यहाँ उपस्थित भएका छौँ। त्यो अधिकारबिना हामी मरेतुल्य हुनेछौँ,’ उनले थपिन्।

तालिबानले यसअघिका प्रदर्शनहरुमा हस्तक्षेप गरेको थियो भने त्यसमा संलग्नहरूलाई हिरासतमा लिएको थियो। तर, यस अवसरमा भने उसले विरोध प्रदर्शनलाई जारी राख्न अनुमति दिएको थियो।

तालिबानले गत अगस्टमा सत्ता हातमा लिएपछि देशका अधिकांश भागमा सबै केटाका विद्यालयहरूसहित केटीहरूको प्राथमिक विद्यालयहरू खुल्ला छन्। तर, माध्यमिक तहका किशोरीहरूलाई कक्षाकोठामा फर्कन अनुमति दिइएको छैन।

तालिबानको शिक्षा मन्त्रालयले केटीहरूको माध्यमिक विद्यालयहरू गत बुधवार पुनः सुरु हुने बताएको थियो। तर, तालिबानको केन्द्रीय नेतृत्वले उक्त निर्णयलाई खारेज गर्‍यो। छोरीहरूका लागि ‘इस्लामिक’ योजना नबनाएसम्म उनीहरू घरभित्रै रहनुपर्ने बताइएको छ।

तालिबानको यस कदमले सबैलाई चिन्तित तुल्याएको छ। विद्यालयको पहिलो दिन नै घर फर्कनु परेपछि विद्यार्थीहरू रोएको भिडियोहरू सोसल मिडियामा सेयर गरिएका छन्।

सम्बन्धित् समाचार