गृहपृष्ठ Featured नवलपुरका १० मतदानस्थल अति संवेदशील

नवलपुरका १० मतदानस्थल अति संवेदशील

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा जिल्लाका मतदानस्थलको अवस्था विश्लेषण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा रहेका मतदानस्थलको सुरक्षाका दृष्टिले लेखाजोखा सुरु गरको छ । त्यही आधारमा जिल्लाका १० मतदानस्थल अति संवेदनशीलमा राखिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

चुनावमा मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्धनका लागि जिल्लामा रहेका एक सय १३ मतदानस्थललाई तीन तहमा बाँडिएको छ । जसअन्तर्गत १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, ुरेस्पोन्स टाइमु, सामाजिक संरचना आदिको आधारमा जिल्लाका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । ३८ वटा मतदानस्थललाई संवेदनशीलमा राखिएको छ भने ६५ वटा मतदानस्थललाई सामान्यमा राखिएको उहाँले बताउनुभयो ।

जिल्लामा रहेका सबै मतदानस्थलको केही दिनमा निरीक्षण गर्ने समेत उहाँले बताउनुभयो । त्यहीअनुसार स्थानीय तहको चुनावको दिन मतदानस्थलको सुरक्षा, मतपेटिका गणना स्थलसम्म सुरक्षित रूपमा लैजाने योजनासहित सुरक्षा प्रबन्ध गरिने उहाँले बताउनुभयो ।

नवलपुरमा दुई सय ९९ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार नवलपुरमा २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या दुई लाख ५४ हजार ६ सय १५ जना पुग्नेछ । जसमा पुरुष एक लाख २१ हजार ३८, महिला एक लाख ३३ हजार पाँच सय ७३ र अन्य चार जना मतदाता रहेका छन् ।

यसैगरी जिल्लामा स्थानीय तहको चुनाव सम्पन्न गर्नका लागि झन्डै १५ सय जना कर्मचारी आवश्यक पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुसालले बताउनुभयो । यस्तै झन्डै नौ सय तीन जना स्वयंसेवक आवश्यक पर्ने उहाँले बताउनुभयो । यसबाहेक सुरक्षाकर्मी रहने छन् ।

आवश्यक कर्मचारी जिल्लामा रहेका सरकारी कार्यालयबाट व्यवस्थापन गरिने जिल्ला निर्वाचन अधिकारी भुसालले बताउनुभयो ।

सम्बन्धित् समाचार