काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली शनिवार सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् । मलंगवामा आयोजित कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८जना वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् ।
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँका अनुसार सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका पूर्व पोलिटव्यूरो सदस्य केशव ढुंगाना, बसबरिया गाउँपालिकाका अध्यक्षका प्रत्याशी रामविश्वास राय लगायतका नेताहरू पनि एमाले प्रवेश गरेका छन् ।
एमालेमा दुई पटक सर्लाही जिल्ला प्रमुख भएका ढुंगाना माओवादी शान्ति प्रक्रियामा आएपछि उक्त पार्टीमा समावेश भएका थिए । शनिवार एमालेमा फर्किँदै ढुंगानाले अब बाँकी जीवन एमालेको उत्थानमा लगाउने बताए ।








