रुपन्देही : नेपाली कांग्रेसको बुटवल नगर समितिले बुटवल उपमहानगरपालिका मेयरको उम्मेदवारमा खेलराज पाण्डेको नाम सिफारिस गरेपछि कांग्रेसमा विवाद बढेको छ । नगर समितिको सोमबार बसेको बैठकले पाण्डेको नाम सर्वसम्मत भएको दाबी गर्दै जिल्ला समितिमा पठाउने निर्णय गरेको थियो ।
तर, नगर समितिले जानकारीसमेत नदिई एकलौटी निर्णय गरेर पाण्डेको नाम सिफारिस गरेको भन्दै अन्य आकांक्षी र कांग्रेस नेताले नै विरोध गरेका छन् । पाण्डे आफै नगरसमितिका सभापतिसमेत हुन् ।
नगर समितिका सचिव छाया पोखरेलले नगरका १९ वटै वडा सभापतिको सिफारिसमा सर्वसम्मत निर्णय गरिएको दाबी गरे । उनले गठबन्धनमा बुटवल उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने निश्चित भएको र गठबन्धनका अन्य दललेसमेत पाण्डेको नाम पठाउन आग्रह गरेकाले निर्णय भएको बताए । समितिले प्रमुखमा पाण्डेसहित उपप्रमुखमा ८ जनाको नाम सिफारिस गरेको छ । तर, बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि दाबी गर्दै आएको छ । प्रमुख नपाएको अवस्थामा उपप्रमुख एकीकृत समाजवादीले पाउने निश्चित जस्तै छ ।
नेपाली कांग्रेस बुटवल नगर समितिले जिल्ला र जिल्लाले प्रदेश हुँदै केन्द्रमा नाम सिफारिस गर्नु पर्ने मापदण्ड छ । पाण्डेको नाम नगरले सिफारिस गरे पनि जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ । अन्य आकांक्षीलाई जानकारीसमेत नदिएर एकलौटी रुपमा विधानविपरीत सिफारिस गरेको भन्दै कांग्रेसका क्षेत्रीय सभापतिसहितका आकांक्षीले मंगलबार छुट्टै भेला गरिरहेका छन् । पाण्डे यसअघिको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए ।
कांग्रेसबाट पाण्डेसँगै क्षेत्रीय सभापति हरि लम्साल र महाधिवेशन प्रतिनिधि चुन्न पौडेल पनि आकांक्षी छन् । क्षेत्रीय सभापतिसमेत रहेका लम्सालले नगरको सिफारिस विधानविपरीत भएको बताए । ‘त्यो सिफारिस एकलौटी र गलत रुपले गरिएको छ,’ उनले भने, ‘विधान विपरित आकांक्षीहरुको छलफल र परामर्शबिना गरिएको सिफारिसको विरुद्धमा हामी अहिले छलफल गरिरहेका छौं ।’ त्यसलाई बदर गर्न माग गर्ने उनले बताए ।
नगर समितिबाट एकलौटी रुपमा सिफारिस गरिएका पाण्डे २०७४ को निर्वाचनमा एमालेका सुवेदीसँग पराजित भएका थिए । कांग्रेस, माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीसमेतको गठबन्धनमा प्रमुखको उम्मेदवार बनेका पाण्डेले २० हजार ८ सय ५१ मत ल्याएका थिए । एमालेका सुवेदीले २३ हजार २ सय ४९ मत ल्याएर बिजयी भएका थिए । नेपाली कांग्रेस प्रदेश समिति कोषाध्यक्ष एवं बुटवलका नेता प्रकाश रानाले पाण्डेको नाम सर्वसम्मत भएको हल्ला मात्र भएको बताए ।








