गृहपृष्ठ Featured देशकै कान्छो २१ वर्षीय जनप्रतिनिधि बनेका रणवीर भन्छन्- ‘राष्ट्रिय राजनीतिमा स्थापित हुन्छु’

देशकै कान्छो २१ वर्षीय जनप्रतिनिधि बनेका रणवीर भन्छन्- ‘राष्ट्रिय राजनीतिमा स्थापित हुन्छु’

जनकपुरधाम : धनुषा कमला नगरपालिका ९ का रणबीर सिंह मण्डल सानैदेखि फरक सोचका थिए। विद्यालयमा पढ्ने बेलादेखि नै सामाजिक सेवामा लाग्न उनी उत्साहित हुन्थे। उनी पठन-पाठनमा पनि मेहनती र लगनशील थिए। धनुषाधामको स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेका उनले सिभिल इन्जियरिङ्गसम्मको शिक्षा प्राप्त गरेका छन्।

झट्ट हेर्दा अपरिक्व उमेरका देखिने उनमा समाजप्रतिको जिम्मेवारी बोध भने एकदमै धेरै छ। २१ वर्षीय रणबीर सिंह मण्डल एकपछि अर्को जिम्मेवारी सम्हाल्दै आज धनुषा जिल्लाको कमला नगरपालिकाको वडा अध्यक्ष बन्न सफल भएका छन्। उनको हँसिलो स्वभाव र नेतृत्वदायी क्षमताका कारण उनी जनताबाट चुनिएका हुन्।

उनको एक मात्र सपना दुवरकोट, हथिलेटवा, सुन्दरपुर र नरहा गाउँलाई देशमै अगाडि बढाउनु भएको उनी बताउँछन्। उनको नेतृत्वदायी क्षमताका कारण नै उनी साथीभाइ, छरछिमेक र गाउँबासी जनताका माझ लोकप्रिय छन्।

इन्जिनियरिङ्ग अध्ययन गरेका उनी काठमाडौंका युवाजस्तै यहाँका युवा पनि सक्षम बन्न सक्छन् भन्ने सोच राख्दछन्। त्यसका लागि उनले ‘भिजन’ समेत बनाएका छन् र ‘भिजन’ भएकाले ‘मिसन’ बनाएर काम गर्ने उनको ध्येय छ।

देशकै कान्छो जनप्रतिनिधि

निर्वाचन आयोगको रेकर्ड अनुसार देशभर भएको स्थानीय तह निर्वाचनमा ७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा २१ वर्ष पुगेका उनी एक मात्र कान्छो जनप्रतिनिधि हुन्। निर्वाचन कानुन अनुसार २१ वर्षका व्यक्तिले स्थानीय तहमा उम्मेदवार हुन पाउँछ। मण्डल ३५३ मत प्राप्त गरेर वडाअध्यक्षमा देशैभरमा निर्वाचित प्रमुखमध्ये सबैभन्दा कान्छो जनप्रतिनिधि बन्न पुगे।

‘राजनीति फोहोरी होइन’ 

उनका उमेर समूहका आम युवाले जस्तै उनी पनि पहिला राजनीति फोहोरी खेल हो भन्थे। तर अब राजनीतिप्रतिको उनको सोच फेरिएको छ। राजनीतिबाट मात्रै समाजको परिवर्तन र समृद्धि सम्भव छ भन्ने निष्कर्षमा पुगेको छन् २१ वर्षिय मण्डल।

सिभिल इन्जियरिङ्ग विषयमा डिप्लोमा गरेको मण्डलको काँधमा एकाएक पढाइ भन्दा ठूलो जिम्मेवारी आइपुगेको छ। तर पनि उनले पढाइ, राजनीति र जनताको सेवासँगै अघि बढाउने निर्णय गरेका छन्। ‘राजनीति नगर्ने निधो गरेको मभित्र अहिले राजनीतिले छुट्टै स्थान बनाइसकेको छ। अब सम्पूर्ण जीवन जनताको लागि समर्पित गर्ने भएँ’, कुराकानीको क्रममा उनले आफ्नो मनको कुरा खोले।

बिहेवारी केही वर्ष पारि

वडा अध्यक्षको ५ वर्षे कार्यकाल पूरा गर्दा उनी २६ वर्ष पुग्ने छन्। जब कि आमयुवाले २५/२६ वर्षको उमेरसम्म जीवनको लक्ष्य नै किटान गरिसकेका हुँदैनन्। तर, उनले भने त्यसपछिको योजना पनि बनाइसकेका छन्। त्योभन्दा माथि राष्ट्रिय राजनीतिमा स्थापित हुने उनको सोच छ।

५ वर्ष गाउँको सेवा गर्न कस्सिएका यी कान्छा जनप्रतिनिधिले बिवाहबारे ५/६ वर्षपछि हेरौंला भन्छन्। ‘बिहेबारीको कुरा अब ५–६ वर्षका लागि स्थगित नै भयो।  तन, मन र धन दिएर जनताको काम गर्ने हो’, मण्डलले भने, ‘विहे गर्ने उमेर पनि के भएको छ र ? आफ्नो कार्यकाल भित्रै नमूना वडा बनाउँछु अनि मात्र विहे गर्छु।’

भावी योजना

‘म अहिले २१ वर्ष भएँ। सबैभन्दा कम उमेरको जनप्रतिनिधि बन्न सफल भएको छु। मैले सुनेअनुसार देशमा सबैभन्दा कान्छो जनप्रतिनिधि मध्येको सबैभन्दा कान्छो म पो भएछु। राजनीति अब मेरो भाग्य र भविष्य हो, भविष्यमा राजनीतिले कहाँ पुग्ने छु त्यो त भन्न सकिन्न तर गाउँबाट जिल्ला हुँदै राष्ट्रिय राजनीतिमा स्थापित हुन सक्छु भन्ने विश्वास छ’, मण्डलले भने।

‘मेरो उमेरका अरु साथीहरु जस्तै म पनि राजनितिप्रति निराश थिएँ। तर संयोग यस्तै पर्‍यो जनता समाजवादी पार्टीले पत्याएन अरुलाई नै टिकट दियो। जनताले पत्याएर मलाई नेपाल जनता पार्टीबाट चुनाव जिताए। अब त राजनीतिको नशा चढिसक्यो, यसैलाई निरन्तरता दिने हो।’, उनले भने। उम्मेदवार बन्दै गर्दा धेरै साथीहरु र आफन्तले ‘हारिस भने के गर्ने ? भन्ने प्रश्न तेर्स्याएको सम्झँदै उनी भन्छन्, ‘मेरो उमेरको कारण उक्त प्रश्न उब्जिएको थियो। तर मैले त्यतिबेलै भनेको थिएँ, जिते पनि हारे पनि अब राजनीतिमा लागियो, चुनाव नजिते पार्टी र समाजमा काम गर्छु। राजनीतिको मैदान छाडेर भाग्दिनँ।’

उनी आफूलाई राजनीतिबाट जनताले नै भाग्न नदिएको बताउँछन्। ‘पहिले त राजनीति गरेका मान्छेहरु देख्दा राजनिति गर्दिन भन्थेँ। सामाजिक कामहरु लागियो त्यसपछि राजनीतिबिना केही पनि हुँदैन जस्तो लाग्न थाल्यो। हामी जस्ता युवाले राजनीतिलाई घृणा गर्ने होइन, बरु राजनीतिमा लागेर फोहोरले भरिएको राजनीतिलाई सफा बनाउनुपर्छ।’

सम्बन्धित् समाचार