गृहपृष्ठ Featured सुकुम्बासीलाई निस्सा उपलब्ध गराउने बुटवलको पहिलो कार्यपालिका बैठकको निर्णय

सुकुम्बासीलाई निस्सा उपलब्ध गराउने बुटवलको पहिलो कार्यपालिका बैठकको निर्णय

बुटवल : सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई मुख्य प्राथमिकतामा राखेको बुटवल उपमहानगरपालिकाले संकलित तथ्यांकको आधारमा अस्थायी निस्सा वितरण गर्ने जनाएको छ । बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्यांक संकलन अनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन्। उनीहरूको तत्कालको समस्या समाधानको लागि उपमहानगरपालिका आफैंले निस्सा उपलब्ध गराउने निर्णय गरेको हो ।

उपमहानगरपालिकाको बुधबार बसेको पहिलो कार्यपालिका बैठकले प्रतिघर एक हजार रुपैयाँ लिएर निस्सा उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

पहिलो कार्यपालिका बैठकले आगामी असार ८ गते नगरसभा गर्ने र त्योभन्दा पहिले असार १ गतेभित्रै सबै वडामा वडाभेला सम्पन्न गर्ने निर्णय गरेको छ । नगरप्रमुख पाण्डेले वडाभेलामार्फत् योजना माग गर्ने र योजनाको लागि उपमहानगरपालिकामा बजेट सिलिङ पठाउन पनि वडा अध्यक्षहरूलाई निर्देशन दिइएको जानकारी दिए ।

त्यसैगरी, वडा नं. ११ को वडा कार्यालय नजिकै रहेको खाली जग्गामा बिपी पुष्पलाल पार्क निर्माण गर्ने र विभिन्न वडाहरूको फोहोरमैला व्यवस्थापनको लागि निजी साझेदारी अवधारणा अन्तर्गत काम गर्न इच्छुक संघसंस्थाहरूलाई खुला आह्वान गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

सम्बन्धित् समाचार