विराटनगर : मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा खोलाले बगाउँदै गरेको अवस्थामा बिहीबार बिहान एउटा शव फेला परेको छ । सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ४०–४५ वर्षका पुरुषको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार खोलाले मानिसलाई बगाइरहेको देखेपछि बिहान ७ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक मोहन पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । खोलाबाट बाहिर निकालेर शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याउने तयारी गरिएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनसार शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । ‘खोलाले बगाउँदै गरेको पुरुषको शव सडेर दुर्गन्धित भएको अवस्थामा फेला पारिएको हो,’ उनले भने, ‘मृतकको पहिचान खुलिसकेको छैन ।’ मृतकको पहिचानको प्रयास भइरहेको र घटनाको अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले बताए ।








