पर्वत : पोखराको ‘एडभेन्चर’ को रूपमा रहेको ‘हट एयर बलुन’ आगामी भदौबाट फेरि सञ्चालन हुने भएको छ। २०७५ कात्तिकमा पोखराको पर्यटनमा टेवा दिने फरक स्वादको ‘एडभेन्चर’ को रूपमा ‘बलुन’ मा मान्छे राखेर उडाउने गरिएको भए पनि कोरोना सङ्क्रमणका कारण एकाएक बन्द गरिएको थियो। २०७६ चैत ११ गते देशव्यापी ‘लकडाउन’ भएपछि चैत १० गतेसम्म सञ्चालनमा रहेको ‘हट एयर बलुन’ पनि ‘लकडाउन’ सँगै बन्द भयो।
बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले ‘लकडाउन’ हटेसँगै ‘बलुन’ उडान शुरु गर्न पटक-पटक पोखरा आए पनि पर्यटकहरूको चहलपहल नै नरहेका कारण ‘बलुन’ उडानको काम गर्न नसकिएको बताए। ‘लकडाउन हुँदाको अघिल्लो दिनसम्म राम्रोसँग चलिरहेको बलुन चैत ११ गते बन्द गरिएको हो। बीचमा लकडाउन नभएको बेलामा बलुन शुरु गर्ने भनेर पटक-पटक पोखरा आएको भए पनि पर्यटक भएनन्,’ उनले भने, ‘पर्यटकहरूको अहिले धेरै चाप नभएसम्म सञ्चालनमा ल्याउन कठिन हुन्छ। अनि चलाएर बलुन थन्क्याउनु परेको अवस्थामा बलुनमा समस्या आएमा बाहिरको टोली ल्याउनुपर्छ।’
आउँदो ‘सेप्टेम्बर फर्स्ट’ अर्थात् भदौ १६ गतेबाट ‘बलुन’ शुरु गर्ने लक्ष्यका साथ विदेशी टोली ल्याएर ‘बलुन’ को मर्मत चलिरहेको छ। मध्य भदौबाट वर्षा पनि रोकिने हुनाले ‘बलुन’ र पर्यटकहरू सबैको लागि वातावरण उपयुक्त हुने भएकाले भदौलाई नै लक्षित गरेर ‘बलुन’ को मर्मत भइरहेको अध्यक्ष बाडेले बताए।
अहिलेसम्म दुई ओटा ‘बलुन’ उडाउने गरिएकोमा यसपटक एउटा थपेर तीनओटा बनाउन लागिएको छ। पोखराको पर्यटन व्यवसाय पुरानै लयमा फर्केको र ‘बलुन’ सञ्चालनमा रहेको बेलामा पर्यटकहरूको चापका कारण दुईओटाले मात्रै नपुगेका कारण अब पुनः सञ्चालनमा आउँदा तीनओटा ‘बलुन’ को व्यवस्थापन गर्न लागिएको हो। तीनओटा ‘बलुन’ उडानसहित सबै खर्च जोड्दा करिब साढे ३ करोडको लगानी हुने उनको भनाई छ।
‘हट एयर बलुन’ फेवातालको माथिल्लो किनार पामेबाट उड्न शुरु गरेर फेवातालको किनारबाट करिब ४ हजार मिटरको उचाइमा पुग्छ। जहाँबाट पोखरा उपत्यकासहित आसपासका क्षेत्रहरू नियाल्न पाइन्छ। बलुनले सराङकोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङखलाको रमणीय दृश्य हेर्न सकिन्छ। माछापुच्छ्रे हिमाल, धौलागिरि हिमाल, लमजुङ हिमाल पनि ‘बलुन’ बाट देख्न सकिन्छ।
बलुनको उडान अवधि ३०/४० मिनेटको हुने गरेको छ। २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ। बास्केटमा ८ जनाले एकै पटकमा यात्रा गर्न सकिन्छ।
‘बलुन’ को मज्जा लिन नेपालीले ९ हजार रूपैयाँ तिर्दै आएकोमा अहिले १ हजार रूपैयाँ घटाएर ८ हजार तिर्नुपर्ने बनाइएको छ। कोरोनाका कारण सबै क्षेत्र र व्यक्ति प्रभावित भएका कारण पर्यटनलाई चलायमान बनाउन १ हजार रूपैयाँ घटाइएको बाडेले बताए। विदेशी नागरिकलाई भने १ सय अमेरिकी डलर शुल्क राखिएको छ। त्यसमा प्रति व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्ससमेत रहेको छ।
‘हट एयर इन्गेजमेन्ट’, ‘हट एयर एनिभर्सरी’, ‘बलुन राइड सट ट्रिप’, ‘बलुन राइड लङ ट्रिप’, ‘हट एयर बर्थ डे’ लगायतका प्याकेज पनि ‘बलुन’ मा राखिएको छ। ‘हट एयर इन्गेजमेन्ट’, ‘हट एयर एनिभर्सरी’, ‘हट एयर बर्थ डे’ प्याकेजको अवधि करिब एक घण्टाको हुने र त्यसको शुल्क ८० हजार रूपैयाँ लाग्ने पनि अध्यक्ष बाडेले बताए।








