सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले युवाहरुका समस्या समाधान गरेर अघि बढ्न नगरपालिका प्रतिवद्ध रहेको बताएका छन् । आजका युवा तथा किशोर किशोरीहरु भोलि देश विकासको नेतृत्व तहमा पुग्ने भएकाले उनीहरुको साझा समस्या समाधान गरेर नगरपालिका अघि बढ्न प्रतिवद्ध रहेको उनले बताए ।
मेयर अर्यालले बुधबार नगरपालिकाको सभाहलमा आयोजित युवा तथा किशोर किशोरीहरुसंग जनप्रतिनिधि कार्यक्रममा उठेका सवालहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘आजका युवा तथा किशोर किशोरीहरु भोलि देश विकासको नेतृत्व तहमा पुग्ने व्यक्ति हुन्, उनीहरुको साझा समस्या समाधान गरेर नगरपालिका अघि बढ्न प्रतिवद्ध छ’ उनले भने, ‘त्यसका लागी आवश्यक पहल कदमी सबैले आआफ्नो तहबाट खेल्न जरुरी छ ।’
मेयर अर्यालले बाणगंगा नगरपालिकाका लागु औषधको कारोबार गर्ने मुख्य क्षेत्रको रुपमा विकास भईरहेको बताउँदै यसको न्युनीकरणको लागी नगरपालिकाले आवश्यक कदमहरु चाल्दै आईरहेको बताए । उनले लागुपदार्थ दुव्र्यसनीको मुख्य सिकार युवा पिँढी भएको बताउँदै यसका लागी युवाहरुको पहलमा विशेष अभियान संचालन गर्न आवश्यक रहेको बताए ।
उनले किशोरीहरुका लागी विद्यालयमा उपलब्ध सेनेटरी प्याड गुणस्तरहिन भएको गुनासो विगतदेखि नै आएकाले अब त्यसको गुणस्तर मापन गरेर मात्र विद्यालयसम्म पुर्याउने प्रतिवद्धता जनाए । बाणगंगा मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालयको अभावले सर्वसाधरणलाई सास्ती व्यवहोर्नु परेको गुनासो आएकाले यसका लागी नगरपालिकाले आवश्यक रकम विनियोजन गरि काम गर्ने उनले जानकारी दिए ।
उनले बाणगंगाका सरकारी विद्यालयहरु गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम रहेको दाबी गरे । ‘बाणगंगाका सरकारी विद्यालय गुणस्तरीय शिक्षा दिन सक्षम छन्, बोर्डिङ स्कुलमा ७÷८ पढेर सरकारी विद्यालयमा भर्ना हुन आउने तथ्याङ्क बढ्दो छ’ उनले भने, ‘यसले सरकारी विद्यालय राम्रो छन् भन्ने प्रष्ट हुन्छ, मात्र अभिभावकको हेर्ने दृष्टिकोण फरक हो ।’
कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, ११ वटै वडाका वडाध्यक्षहरु, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी., सिद्धार्थ सामाजिक विकास केन्द्रका आरटि खान, नगरस्तरीय युवा क्लवका अध्यक्ष मधुसुधन भुसाल, नमुना नगर सभाका पदाधिकारी, बाल संजालहरुका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।