गृहपृष्ठ Featured रुपन्देहीमा ‘राडर गन’ सहित ट्राफिक प्रहरी राजमार्गमा : तीव्र गतिमा हाक्नेलाई कारबाही

रुपन्देहीमा ‘राडर गन’ सहित ट्राफिक प्रहरी राजमार्गमा : तीव्र गतिमा हाक्नेलाई कारबाही

प्रकाशित मिति:

रुपन्देही : तीव्र​ गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न रुपन्देहीमा राडर गनसहित ट्राफिक प्रहरी राजमार्गमा खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारवाही थालिएको हो ।

 

रुपन्देहीमा भएको दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको तथ्यांक देखिएको छ ।

उक्त दुर्घटनामध्ये अधिकांश बुटवल भैरहवा सडक खण्डमा तीव्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए ।

‘जिल्लाका राजमार्गहरुमा तीव्र गतिले सवारी दुर्घटना बढदै गई रहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान सुरु गरेका छौ । पहिलो दिन ३२ वटा, दोस्रो दिन ३८ वटा र तेस्रो दिन ४२ सवारीसाधन कारवाहीमा परेका छन । राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारवाही गरिएको छ’, प्रमुख केसीले भने ।

 दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले सिद्धार्थ राजमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई हुलाकी सडक र अन्य राजमार्गमा पनि लैजाने कार्यालयको योजना छ । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले  ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

कुन गाडी कति गतिमा गडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स-प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको ट्राफिक प्रहरी प्रमुख केसीले बताए ।  राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीव्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने सरकारी गाडी, मोटरसाइकल र स्कुल बस पनि कारवाहीमा परेका  छन् ।

सम्बन्धित् समाचार