साविक विजेता अष्ट्रेलियाले घरेलु भूमिमा आयोजना हुने आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
अष्ट्रेलियाले बिहीबार घोषणा गरेको टोलीमा ब्याट्सम्यान टिम डेभिडले पहिलोपटक स्थान बनाएका छन् । डेभिडले एसोसिएट राष्ट्र सिंगापुरबाट समेत अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । त्यसकारण डेभिड टोलीमा पर्नुलाई सबैले आश्चर्यका साथ हेरेका छन् ।
अष्ट्रेलियाले सन् २०२१ को ट्वान्टी–२० विश्वकपको टोलीमा एक खेलाडी मात्र परिवर्तन गरेको छ । स्पिनर मिचेल स्वेपसनको स्थानमा टिम डेभिडले स्थान बनाएका छन् । त्यसबाहेक अरू सबै पुरानै खेलाडी छन् । डेभिडको आगमनले कप्तान एरोन फिन्चलाई ब्याटिङमा थप विकल्प मिलेको छ ।
‘‘डेभिडले पछिल्लो समय घरेलु लिगमा उच्चस्तरको र एकनासको प्रदर्शन गरेका छन् । उनी प्रतिभावान् खेलाडी हुन् । उनको आगमनले ब्याटिङमा डेप्थ अझै बढेको छ,’’ अष्ट्रेलियन टोली छनोट समितिमा प्रमुख जर्ज बेलीले भने ।
ट्वान्टी–२० विश्वकप योपटक आउँदाचे अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सात सहरमा आयोजना हुनेछ । अष्ट्रेलियाले अघिल्लो संस्करणमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।
अष्ट्रेलियाले घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
अष्ट्रेलियन टोली
एरोन फिन्च (कप्तान), प्याट कमिन्स (उपकप्तान), एस्टन एगर, टिम डेभिड, जोश हाज्लेउड, जोश इङलिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचार्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कुस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जम्पा ।








