चुनावी चर्चामा अगाडि रहँदै आएको रुपन्देही क्षेत्र नम्बर २ को यसपटक पनि चर्चा चुलिएको छ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेलको चुनावी क्षेत्र रुपन्देही २ मा उनीसँग चुनावमा भिड्न दलका नेतादेखि स्वतन्त्र व्यक्तिहरूसमेत तँछाड–मछाड गरेर लागिपरेका छन् ।
लगातारका तीनवटा चुनावमा भारी मतान्तरले विजयी बनेका पौडेललाई चुनौती दिन सत्तागठबन्धनबाट साझा उम्मेदवारको टुंगो नलाग्दै दलहरूका विभिन्न कमिटीले विभिन्न नेताहरूलाई अगाडि सारेका छन् ।
रुपन्देहीमा धेरै बजेट ल्याउन र यहाँको विकासमा पौडेलको भूमिका बढी रहेको चर्चा गर्ने यहाँका एमाले नेता–कार्यकर्ताले यसपटक पनि पौडेल उम्मेदवार बन्ने र भारी मतान्तरले जित्ने बताउँदै आएका छन् । तर, यसपटकको स्थानीय निर्वाचनमा पौडेलको क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूमा एमालेको भन्दा सत्तागठबन्धनका उम्मेदवारको मत ६ हजारभन्दा पनि बढी रहेको छ ।
गठबन्धनको मत धेरै रहेकाले यहाँ गठबन्धनका नेताहरूले यसपटक बढी आँखा लगाएका छन् । यहाँ कांग्रेसबाट केन्द्रीय राजनीतिमा प्रभाव पार्ने नेता नभएको अवस्थामा कांग्रेसले क्षेत्र नम्बर ३ चुनावी क्षेत्र बनाउँदै आएका गृहमन्त्री बालकृष्ण खाणको नामसमेत उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
खाण क्षेत्र नम्बर ३ बाट पनि उम्मेदवारको सिफारिसमा पर्ने कांग्रेस रुपन्देहीका सचिव हरिप्रसाद काफ्लेले बताए । कांग्रेस क्षेत्रीय समिति रुपन्देही २ ले खाणका अतिरिक्त युवराज गिरी, अधिवक्ता कृष्णप्रसाद पोखरेल, चुन्नप्रसाद पौडेल र अर्का अधिवक्ता गोकर्ण पौडेलको नामसमेत सिफारिस गरेको क्षेत्रीय सचिव विमलराज भट्टराईले बताए ।
गिरी गत निर्वाचनमा पौडेलसँग पराजित भएका थिए । यस क्षेत्रबाट उम्मेदवार बन्न माओवादी केन्द्रका विनोद पहाडी पनि आकांक्षी रहेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारहरूको पनि चर्चा सुरु भएको छ । यस क्षेत्रबाट डाक्टर निकोलस भुसाल स्वतन्त्र उम्मेदवार बन्ने गरी प्रचार थालिएको छ ।
रुपन्देही २ सत्तागठबन्धनमा भागबन्डा गर्दा नेकपा एकीकृत समाजवादीको कोटामा पर्न सक्ने दाबी सो पार्टीले गरेको छ । उम्मेदवारका रूपमा राजु गुरुङलाई अगाडि सारिएको छ ।
एकीकृत समाजवादीले रुपन्देही २ लाई बटमलाइन बनाउने
नेकपा एकीकृत समाजवादीले गठबन्धनमा रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ लाई बटमलाइन बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेश सभातर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।
केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रूपमा कार्यान्वयन गर्नेसमेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए ।








