२१ भदौ, काठमाडौं ।
यातायात व्यवसायीले दसैँका लागि असोज १ गतेबाट लामो दूरीमा बसको टिकट बुकिङ खोल्ने तयारी गरेका छन् । यसका लागि यातायात व्यवस्था विभागले बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायलाई छलफलका लागि बोलाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले असोज १ गतेबाट लामो दूरीमा बस टिकट बुकिङ खोल्नेगरी आफूहरूको प्रस्ताव छलफलमा राखिने बताए ।
‘धेरै अगाडि टिकट बुकिङ खोलेर अर्थ छैन,’ अध्यक्ष स्वाँरले भने, ‘पहिले पनि अग्रिम टिकट घटस्थापनाको एक साता अघिबाट मात्र खोल्ने गरिन्थ्यो ।’ बुधबारको छलफलबाट लामो दूरीमा बसको टिकट बुकिङ खोल्ने मिति निश्चित हुने उनको भनाइ छ ।
विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुका अनुसार यातायात व्यवसायीबीच छलफल गरेर मात्र टिकट बुकिङ खोलिने छ । ‘चाडपर्वमा यातायात व्यवस्थापन र टिकट बुकिङ खोल्ने सम्बन्धमा छलफलका लागि सरोकारवाला निकायलाई बोलाइएको छ,’ उनले भने, ‘छलफलपछि टिकट बुकिङ खोल्नेबारे निर्णय हुने छ ।’ त्यस्तै बाढीपहिरोले अवरुद्ध राजमार्ग दसैँअघि पूर्ण रुपमा सञ्चालनमा ल्याइसक्ने सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।