गृहपृष्ठ Featured मुख्यमन्त्री केसीलाई धर्मसंकट : रोल्पा र दाङ जता लागे पनि टुंगो छैन टिकट

मुख्यमन्त्री केसीलाई धर्मसंकट : रोल्पा र दाङ जता लागे पनि टुंगो छैन टिकट

रुपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी नेता कुलप्रसाद केसी आगामी निर्वाचनका लागि असुरक्षित देखिएका छन् । सत्ता गठबन्धनका कारण उनले मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टीबाट टिकट पाउने सम्भावना क्षीण बन्दै गएको हो ।

एक निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी नेता वर्षमान पुनले छाड्ने अवस्था छैन । प्रदेशमा गठबन्धनका कारण दुवै क्षेत्र नेपाली कांग्रेसले दाबी गरेपछि मुख्यमन्त्री केसी रेड जोनमा पुगेका छन् । गठबन्धन नभए पनि रोल्पामा माओवादीका आकांक्षी धेरै छन् । जसले गर्दा केसीले संघ वा प्रदेशमा टिकट पाउन सहज छैन ।

रोल्पा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको जिल्ला पनि हो । मुख्यमन्त्री केसी र काग्रेस सभापति पुनको क्षेत्र पनि एउटै हो । यसकारण सत्ता गठबन्धनले गर्दा केसीलाई टिकट फुस्काउनै समस्या आएको देखिएको हो ।

कांग्रेस नेता पुनले माओवादीलाई संघ या प्रदेशका दुवै क्षेत्रमध्ये एक रोज्न पहिले नै प्रस्ताव गरेको र गठबन्धनमा कांग्रेस त्यो मान्न तयार रहेको बताए । ‘संघ या प्रदेश रोज्न भनेका छौं । गठबन्धन भनेपछि दुवै पाइँदैन’, सभापति पुनले भने, ‘हामी प्रस्ट छौं । त्यसैले संघको १ सीट रोज्ने कि प्रदेशका दुई सीट भनेर भनिसकेका छौं ।’

संघको उम्मेदवारमा वर्षमान पुन निश्चित जस्तै भएकाले प्रदेशको क्षेत्र कांग्रेसलाई छोड्नुपर्ने भएकाले मुख्यमन्त्री केसीलाई सर्लक्कै टिकट पाउन समस्या परेको माओवादी नेताहरुले बताउँदै आएका छन् ।

‘मुख्यमन्त्रीले गठबन्धनकै कारण यसपटक टिकट पाउने सम्भावना कम छ । संघीय क्षेत्र माओवादीले पाउँदा वर्षमानकै निश्चित छ । प्रदेशमा दुवै कांग्रेसले दावी गरेको छ । बल गरेर एक क्षेत्र माओवादीले पाए पनि उहाँको क्षेत्रमा कांग्रेस प्रदेश सभापतिले छोड्ने कुरा हुँदैन’, माओवादी रोल्पाका एक नेताले भने, ‘अर्को क्षेत्रमा यसअघि माओवादीबाटै जितेका नेता सिजलले छोड्ने अवस्था छैन । त्यसैले उहाँले अन्य जिल्लातर्फ आँखा लगाइरहनु भएको छ ।’

रोल्पाबाट टिकट नपाउने सम्भावनाा बढेपछि मुख्यमन्त्री केसीले दाङको निर्वाचन क्षेत्र नं १ तिर नजर लगाएको बुझिएको छ । केन्द्रीय राजनीतिमा जान इच्छुक केसी राजधानीको संरचना लगेर टिकट हात पार्ने दाउमा लागेका छन् । नेकपा एकीकृत समाजवादीका नेता एवं मन्त्री मेटमणि चौधरीको क्षेत्र भएकाले यहाँ पनि केसीको सम्भावना कमै छ । विकल्पमा मुख्यमन्त्री केसी दाङबाटै प्रदेशसभाको टिकट सुरक्षित बनाउन लागिपरेका छन् । तर यहाँ पनि प्रदेश सांसद एवं मन्त्री इन्द्रजीत चौधरी तगारो बन्ने देखिएको माओवादी नेताहरुको विश्लेषण छ ।

तैपनि दाङका नेताहरुलाई प्रभावमा पार्न मुख्यमन्त्री केसीले अपूर्ण भौतिक संरचनामै हतारहतार राजधानीका निकाय सार्न खोजे पनि सफलता हात पार्न सकेका छैनन् ।

लुम्बिनीको स्थायी राजधानी दाङ देउखुरी राप्ती उपत्यकामा आफ्नै पहलमा प्रदेशसभा र मन्त्रालयहरु सारेको जस लिएर नेतृत्वसँग टिकट हत्याउने दाउमा लागिपरेको भन्दै यसले पार्टीलाई असर पारेको दाङका माओवादी नेताको बुझाइ छ ।

मुख्यमन्त्री केसीले माओवादी केन्द्रीय नेतृत्वलाई गठबन्धनबाट दाङको क्षेत्र नं १ मा टिकट दिलाउन दबाब बढाएका छन् । टिकट पाउनकै लागि उनले प्रदेशसभा र मन्त्रालयहरु सार्न कर्मचारीलाई निर्देशन दिने गरेका छन् । आफ्नो निर्देशन पालना नगर्ने कर्मचारीहरुको सरुवासमेत गराएका छन् । मुख्यमन्त्री केसीले स्थायी राजधानीमा प्रदेशसभा र मन्त्रालय सार्न हतार गर्नुको पछाडि टिकट पनि एउटा कारण रहेको कांग्रेसका नेताहरु बताउँछन ।

दाङ क्षेत्र नं १ मा कांग्रेसले पनि दाबी गरेको छ । कांग्रेसले यस क्षेत्रको लागि केन्द्रीय सदस्य योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, प्रदीप थापा र स्व. नेता खुमबहादुर खड्काका छोरा अनुराज खड्कालाई सिफारिस गरेको छ ।

सम्बन्धित् समाचार