सागर वि.क.,वैखरी अनलाईन ।
बाणगंगा नगरपालिका वडा नं.२ मा भूमि वर्गीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा शुक्रबार वडा नं.२ को वडा कार्यालय पिपरामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको बारेमा नापी सर्वेक्षक आदित्या खनालले प्रकाश पारेका थिए । उनले भूमि उपयोग नियमावली, २०७९, हालको भूमि व्यवस्थापनका चुनौति लगायतको विषयमा स्पष्ट पारे ।
वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्नका निम्ति यस्तो कार्यक्रम आवश्यक पर्ने बताए ।
भू–उपयोग नीति र ऐन सरकारले ल्याइसकेको बताउँदै वडाध्यक्ष पौडेलले ती नियमहरूलाई कार्यान्वयन गर्न सहज बनाउनका लागि नियमावली समेत जारी भएको बताए । उक्त नियमावलीले नीति तथा ऐनमा अस्पष्ट भएका कतिपय विषयलाई स्पष्ट पारेको पनि उनको भनाई छ ।
कार्यक्रममा वडाका विभिन्न क्षेत्रबाट सहभागीले वडा नं.२ भित्रका राजमार्ग क्षेत्रलाई व्यवसायिक क्षेत्र, पुर्वाधार पुगेका क्षेत्रलाई आवास क्षेत्र, रुख तथा वनस्पति वृक्षारोपण गरिएका सरकारी वा सार्वजनिक जग्गालाई वन क्षेत्रमा वर्गीकरण गर्न सुझाव दिएका छन् ।
यस्तै उनीहरुले नदी, खोला तथा सोको जलप्रवाहको क्षेत्रलाई नदी, खोला, ताल, सिमसार क्षेत्र, विभिन्न समुदायले धार्मिक, सांस्कृतिक, वा परम्परागत रूपमा पूजा, अर्चना वा उपासना गर्ने स्थललाई सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रमा वर्गीकरण गर्न सकिने सुझाव दिएका वडाध्यक्ष पौडेलले वैखरी अनलाईनलाई जानकारी दिए ।
वडाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका कृषि विकास शाखा प्रमुख लेष बहादुर के.सी., राजस्व शाखा अधिकृत मदन प्रसाद घिमिरे, भवन तथा शहरी विकास शाखाका ईन्जिनियर सुनिल श्रेष्ठ, वडा सचिव नरेन्द्र पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।







