गुल्मीमा चितुवासँग अचानक भिडन्त हुँदा एक व्यक्ती घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका-६ निनीचौरका ३० वर्षीय यम बहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका छन् । उनको शरिरका बिभिन्न भागमा चोट लागेको छ ।
आइतबार बिहान कुखुराको फर्ममा काम गर्न जाँदा एक्कासी चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिव १० मिनेट भिडन्त भएको भाई लेखराज कुँवरले जानकारी दिए ।
कुँवरको प्रतिकारबाट चितुवा मरेको छ । कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले घटनास्थलमा चितुवाको मुचुल्का उठाउने काम भइरहेको छ। कुखुरा फर्ममा पसेको चितुवाले एक्कासी आक्रमण गरेपछि प्रतिरक्षाको क्रममा चितुवा मरेको कुँवरले जानकारी दिए ।