पाकिस्तानका पूर्व अम्पायर असद रउफको हृदयघातका कारण निधन भएको छ । उनी आईसीसीको एलिट प्यानलका अम्पायर थिए ।
पाकिस्तानको ‘दुनिया न्युज’का अनुसार रउफका भाइ ताहिर रउफले यो खबरको पुष्टि गरेका हुन् ।
असद रउफ न् २००६ मा आईसीसीको एलिट प्यानलमा परेका थिए । त्यसपछि उनले ४७ टेस्ट, ९८ एकदिवसीय र २३ टी–२० खेलमा अम्पायरिङ गरेका थिए ।
उनको अम्पायर करियर सन् १९९८ मा सुरु भएको थियो । सन् २००० मा भारत र पाकिस्तानबीचको एकदिवसीय खेलबाट उनले अन्तर्राष्ट्रिय स्तरमा अम्पायरिङको दुनियाँमा डेब्यु गरेका थिए ।
रउफ आईपीएलमा पनि देखा परेका थिए तर २०१३ मा स्पट फिक्सिङको आरोप लागे पछि उनको करियर यहीँ समाप्त भयो।
अम्पायरिङमा प्रतिबन्ध लगाइएपछि असद रउफ विगत केही वर्षदेखि लाहोरमा पसल चलाएर जीवन बिताइरहेका थिए ।
उनको जुत्ता र कपडाको पसल थियो । -बीबीसी