बेलायतमा सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सोमबार मध्यान्ह लन्डनको वेस्टमिन्स्टर आबीमा राजपरिवारका सदस्य, देशका पूर्वप्रधानमन्त्रीसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा कूटनीतिक प्रतिनिधिको उपस्थितिमा अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टि समारोहपछि महारानीको शवलाई पश्चिम लन्डनस्थित विन्ड्सर क्यासलमा पुर्याएर समाधिस्थ गरिएको छ। विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा महारानीका पति फिलिपसँगै उनको समाधिस्थ गरिएको हो। अन्त्येष्टि पूर्वमहारानीकोे शवपेटिकालाई बेलायती सेनाको गन क्यारेजमा राखेर वेस्टमिन्स्टर आबीमा ल्याइएको थियो।
शवपेटिकाको अगाडि बेलायती सेनाका स्कटिस तथा आइरिश रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज र रोयल एयर फोर्सका सैनिक परम्परागत बाजा बजाउँदै परेडमा हिँडेका थिए। राजा चाल्र्स तृतीयसहित राजपरिवारका सदस्यहरू शवपेटिकालाई पछ्याउँदै हिँडेरै अन्त्येष्टिस्थल पुगेका थिए। अन्त्येष्टि समारोहमा विश्वका विभिन्न सय बढी मुलुकका राष्ट्रप्रमुखसहित ५ सय उच्चपदस्थ विदेशी पाहुनाहरूको सहभागिता थियो।