सागर वि.क.,वैखरी अनलाईन ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा अवस्थित सुपादेउराली मन्दिर पछिल्लो समय पुजा आराधनाको लागी सबैको रोजाईमा पर्दै आएको छ । एक बिगाहा भन्दा बढी क्षेत्रफलमा फैलिएको यस मन्दिरमा कपिलवस्तुसहित छिमेकी जिल्लाहरु अर्घाखाँची, रुपन्देही, पाल्पा, नगरपरासीका दर्शनार्थीहरु आउने गरेका छन् ।

विभिन्न चाडपर्वका समयमा यस मन्दिरमा थेगी नसक्नु भिड लाग्ने समेत गर्छ । धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हुन सक्ने प्रचुर सम्भावना बोकेको यस मन्दिरमा आवश्यक संरचना भने निर्माण हुन सकेका छैनन् ।
मन्दिरको थप व्यस्थापनमा वडा, नगरदेखि प्रदेश र संघीय सरकार चुकेको देखिन्छ । यसरी चासो नदिदाँ जनगुनासो बढ्न थालेको छ ।
कपिलवस्तुसहित यस बाणगंगा नगरपालिकालाई नै अन्य जिल्लामा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यस मन्दिरको संरक्षण तथा व्यवस्थापनमा सरोकारवाला अन्य निकायले पहल समेत नगर्नु दुखद पक्ष भएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष नहकुल शाहीले बताए । ‘मन्दिरको लागी केही व्यवस्थापन गरिदिन हामीले धेरैलाई अनुरोध गरेका थियौं तर सबैले सिधै ‘मन्दिर कमाउने थलो हो’ भनेर भन्नु हुन्छ, त्यस्तो भन्दा दुःख लाग्छ’, उनले भने ।
एक बर्षमा मात्रै झन्डै ३ लाख दर्शनार्थीहरुले मन्दिरको दर्शन गरेको उनले जानकारी दिए । यस अवधिमा करिब १६ लाखको कारोबार भएको उनले बताए । मन्दिरमा हाल पुजारीसहित ४ जना कर्मचारी रहेको उनले बताए ।
समयानुकुल मन्दिरलाई ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफुहरुले विगतदेखि लागी परेको उनले बताए । हाल मन्दिर परिसरमा पार्किङको व्यवस्था मिलाउनुपर्ने अहिलेको मुल आवश्यकता भएको उनले बताए ।
यस्तै मन्दिर परिसरमा तारबार, विवाह ब्रतबन्धनका लागी एक हल, सौन्दर्यीकरण गर्नुपर्ने आवश्यकता समेत रहेको उनले बताए ।
आफुहरुले पटकपटक सामुदायिक वनहरुसंग सहकार्यका लागी पहल गरेको तर उक्त पहलले सार्थकता प्राप्त गर्न नसकेको उनले बताए । ‘हामी लुकेका र ओझेलमा परेका सम्भाबित धार्मिक पर्यटकीय क्षेत्रको विकास गरि अघि बढ्छौ भन्ने धेरै बोलीमा सुनियो, तर त्यो व्यवहारमा उतारिएको देखिएन्, अब नयाँ ढंगले सोच्न आवश्यक छ म यत्ति भन्छु’, उनले भने ।








