सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिकाले आजबाट चाडपर्व लक्षित बजार अनुगमन सुरू गरेको छ । मंगलबार पिपरा, बोडगाउँ, ओदारीसहित बजार क्षेत्रमा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीको नेतृत्वमा बजार अनुगमन भएको हो ।

बजार अनुगमनमा ४ वटा समूह परिचालन भएको थियो । अनुगमनका क्रममा किराना पसल, तरकारी पसल, होटल तथा रेष्टुरेन्ट, एग्रोभेट लगायतमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अधिकांश पसलहरुमा मूल्यसुची नभएको, सरसफाईमा ध्यान नदिएको, नगरपालिकामा दर्ता नगरेको भेटिएको उपप्रमुख चौधरीले बताईन् । ‘आज(मंगलबार) बाट बजार अनुगमन सुरु गरेका छौं, अब केही दिन प्रभावकारी रुपमा निरन्तर बजार अनुगमन गछौं । अनुगमनका क्रममा पसलहरुमा मूल्यसुची नभएको, सरसफाईमा ध्यान नदिएको, नगरपालिकामा दर्ता नगरेको भेटियो ।’, उनले भनिन् ।

उनले बजारमा अखाद्य वस्तु धेरै बेचिरहेको पाइएको बताइन् । उनले कतिपयलाई दर्ता गराउने कुराहरू नै थाहा नभएको र उनीहरूलाई सचेत गराइएको बताइन् । उनले बेच्ने मात्र नभई किन्ने मानिसमा पनि अखाद्य सामग्रीको पहिचान गर्न नसकेको पाइएको बताइन् ।
उपमेयर चौधरीले अनुगमनको क्रमलाई दसैँपछि पनि निरन्तरता दिने प्रतिबद्धता जनाइन् । उनले जानेर बजारमा उपभोक्ताहरूलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिइन् ।
उपप्रमुख चौधरीले उपभोक्ताहरुको हकअधिकारी संरक्षणमा सबै व्यवसायी गम्भिर हुनु पर्ने बताईन् । चाडपर्वका समयमा हुने कालोबजारीलाई नियन्त्रण गर्न अनुगमन प्रभावकारी हुने उनले दाबी गरिन् ।
पिपराका दुई एग्रोभेटमा म्याद नाघेका विउविजयहरु फेला परेको र ती सबै जफत गरिएको कृषि विकास प्रमुख लेष बहादुर के.सी.ले बताए ।
अनुगमनका क्रममा बाणगंगा २ पिपरामा दर्ता नै नगरि पसलहरु संचालनमा आएको समेत भेटिएको र उक्त पसलहरुलाई ३ दिने अल्टिमेटम दिएको उनले जानकारी दिए । यस्तै केही होटलहरुमा खुलेआम लोकल रक्सीहरु बेचेको पाईएको छ ।
लोकल रक्सीहरु भेटिएको हत्तेरिका खाजा घरमा बालश्रमीक समेत भेटिएका छन् । उक्त खाजाघरका संचालकलाई बाणगंगा नगरपालिका बालश्रम मुक्त नगर भएको जानकारी गराई बालश्रमिक नराख्न सुझाव दिईएको के.सी.ले बताए । फेला परेको रक्सी प्रहरीसंग समवन्य गरि नष्ट गरिने के.सी.ले बताए ।
‘पसल दर्ता एउटा नाममा दर्ता छ, साईनबोर्ड भने अर्को नामको पनि भेटियो’, उनले भने, ‘त्यस पसलमा तत्काल साईनबोर्ड नै हटाएर अर्को साईनबोर्ड बनाएर राख्न निर्देशन दियौं ।’









