१४ असोज, काठमाडौं ।
सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन संघर्षरत छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ ।
माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि जितेका क्षेत्रहरु यथावत राख्ने गरी मात्र भागबण्डा मिलाउन शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । त्यसो नगरिए परिणाम अनपेक्षित हुने समेत चेतावनी दिएका छन् ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटको लागि गठबन्धन दलहरुले यसअघि जितेका क्षेत्रहरु यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाट सम्बन्धी निर्णय गर्न नेकपा माओवादी केन्द्र रुकुम पश्चिम जोडदार माग गर्दछ’ उनले विज्ञप्तिमा भनेका छन् ।








