पश्चिम नवलपरासीमा एक जना महिलालाई सामुहिक बलात्कार गर्ने समूहलाई प्रहरीले राजनीतिक दलको दबाबमा छाडिदिएका छन् । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिकाकी एक जना महिलालाई घरमा कोही नभएको समयमा राति जबर्जस्ती घरभित्र पसेर घरपछाडि लगेर बलात्कार गरेका थिए । पीडित महिलाका अनुसार राति पटकपटक फोन गरेर दुःख दिएको र पछि घरभित्रै पसेर चार जनाको समूहले बारीमा लगेर बलात्कार गरेका थिए । महिलाले हारगुहार गरेर चिच्याएपछि गाउँलेले समातेर प्रहरीलाई बुझाएका थिए ।
बलात्कारमा संलग्न चार जनामध्ये प्रतापपुर ६ का दुर्गेश गुप्ता फरार भएका थिए भने इलाका प्रहरी कार्यालय बेलाटोरीले प्रतापपुर गाउँपालिका ६ का रविन्द्र गुप्ता, सुजित गुप्ता र सुस्ता गाउँपालिका ५ का उस मोहम्मद मियाँलाई पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनालाई स्थानीय जनप्रतिनिधि र राजनीतिक दलको दबाबमा छाडिएको पीडित महिलाका आफन्तले जनाएका छन् । त्यसैगरी घटना भएको तीन दिन बितिसक्दा पनि इलाका प्रहरी कार्यालय बेलाटारी र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी दुवैले जाहेरी नलिएको पीडितले बताएकी छिन् ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले भने पीडितले समयमै जाहेरी नल्याएको कारण तारेखमा छाडेको दाबी गरे । उनले पीडित पक्षले कार्यालय समयमा पछि जाहेरी ल्याएको कारण जाहेरी नलिएको बताए । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले घटना घटेको क्षेत्र इलाका प्रहरी कार्यालय बेलाटारीमै जाहेरी दर्ता गर्नुपर्ने भएकाले जिल्लाले जाहेरी नलिएको बताए ।
पीडित महिला र उनका आफन्तले भने प्रहरी, केही स्थानीय जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुले दोषिलाई उन्मुक्ति दिन पीडितको जाहेरी लिन आनकानी गरेको आरोप लगाएका छन् ।








