काठमाडौं ।
युभेनटसले आइतबार राति इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई ३–० ले हराएको छ । डुसान भ्लाहोभिकले एक गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएको खेलमा युभेनटसले ३–० को जित निकालेको हो ।
युभेन्टसले घरेलु मैदानमा फिलिप कोस्टिकको गोलबाट २४औं मिनेटमा अग्रता लिएको थियो । कोस्टिकले भ्लाहोभिकको पासमा गोल गरेका थिए । ५९औं मिनेटमा भ्लाहोभिक आफैँले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ६२औं मिनेटमा अर्काडिउज मिलिकले तेस्रो गोल थपेपछि युभेन्टसले सहज जित निकालेको हो ।
जितसँगै युभेन्टसले ८ खेलबाट १३ अंक जोडेको छ । युभेन्टस सातौं स्थानमा छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा सात अंकले पछाडि हो । पराजित बोलोग्ना ६ अंकका साथ १७औं स्थानमा छ ।