गृहपृष्ठ Featured बर्दियाको सदरमुकाममा बाढी पस्दा ५० बढी घर विस्थापित

बर्दियाको सदरमुकाममा बाढी पस्दा ५० बढी घर विस्थापित

बर्दिया ।

मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीमा आएको बाढीका कारण सदरमुकाम गुलरिया—५ वालापुर डुबानमा परेको छ । बिहान साढे ११ बजेसम्म करिब ५० घर डुबानमा परिसकेका छन् ।

बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरुले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन् । डुबान बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर उद्दार कार्य भैरहेको छ । बाढी थप दर्जनौं घरमा पस्ने क्रममा छ ।

बबईको जलस्तर हाल ७ दशमलव ५ मिटरमाथि रहेको छ । बबईमा जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको सतर्कता नाघेको मानिन्छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाढीसँगै कटानले गुलरियाको प्रयागपुर, वालापुर र हरियाली टोलमा कटान भइरहेको बताए । कटान क्षेत्रबाट सुहेलवा, वालापुरबाट बाढी पसेको छ,’ उनले भने, ‘जलस्तर बढिरहेकोले बाढीको खतरा टरेको छैन । बाढीको पानी पसेर धानखेत डुबानमा पर्दै गइरहेका छन् । तटीय क्षेत्रका बासिन्दा त्रासले घरका सामान सारिरहेका छन् ।’

पानी लगातार परिरहेकोले साँझसम्म बाढीले थप क्षति पर्‍याउने जोखिम बढेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका एसपी जहरसिंह बुढामगरले बताए । धनजनको क्षति नहोस् भन्दै थप सुरक्षा बल त्यहाँ परिचालन गरिएको उनले जनाए ।

सम्बन्धित् समाचार