दाङ, असोज २४ ।
देशका अन्य निर्वाचन क्षेत्रमा गठबन्धन गरी चुनावमा होमिएका दलहरू रूकुम पश्चिममा भने एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन्। नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिममा गठबन्धन भएको छैन।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक्लाएक्लै चुनावमा होमिएका छन्। उनीहरूले आइतबार प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्तासमेत गरिसकेका छन्।
रूकुम पश्चिममा प्रतिनिधि सभातर्फ एउटा मात्रै क्षेत्र छ। माओवादीबाट जनार्दन शर्मा प्रतिनिधि सभातर्फ उम्मेदवार छन् भने प्रदेश सभा (क) मा महेन्द्र केसी र (ख) मा राजकुमार शर्मा उम्मेदवार छन्।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा केन्द्रीय सदस्य मानबहादुर नेपाली उम्मेदवार छन् भने प्रदेश सभा (क) मा कृष्णबहादुर रोकाय र (ख) मा प्रेमप्रकाश ओली उम्मेदवार छन्। रोकाय प्रदेश महामन्त्री हुन् भने ओली जिल्ला सभापति हुन्।
नेकपा एमालेबाट प्रतिनिधि सभामा जिल्ला अध्यक्ष नन्दराम देवकोटा उम्मेदवार छन्। यस्तै प्रदेश सभा क्षेत्र (क) मा नारायणकुमार शाह र (ख) मा कर्णबहादुर घर्ती उम्मेदवार छन्।
रूकुम पूर्व र रोल्पामा क-कसले दिए उम्मेदवारी?
रुकुम पूर्वमा दलहरुले आइतबार उम्मेदवारी दर्ता गराएका छन्। यहाँ एउटा प्रतिनिधि सभा क्षेत्र छ भने दुइटा प्रदेश सभा क्षेत्र छ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश सभातर्फ क्षेत्र (क) मा माओवादीका तेजबहादुर ओली र (ख) मा नेपाली कांग्रेसका धनबहादुर केसीको उम्मेदवारी परेको छ।
त्यस्तै छिमेकी जिल्ला रोल्पामा पनि एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ।
माओवादीका नेता वर्षमान पुनले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन्। प्रदेश सभा क्षेत्र (क) मा माओवादी केन्द्रका जोखबहादुर महरा र (ख) मा कांग्रेसका अमरसिंह पुनको उम्मेदवारी दर्ता भएको छ। पुन कांग्रेस लुम्बिनी प्रदेश सभापति हुन्।