गृहपृष्ठ Featured यो दसैँमा पनि उडेन गुल्मीबाट विमान !

यो दसैँमा पनि उडेन गुल्मीबाट विमान !

प्रकाशित मिति:

रेसुङ्गा ।

गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैँमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाड उडेको छैन । हरेक वर्षको दसैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो छ ।

स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दसैँ भनेर दिएको आश्वासनप्रति दिक्क छन् । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरी जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ ।

अर्का स्थानीयवासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नएकामा दुःखी छन् । चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उनले गुनासो गरे । “पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौँ”, पुनले भने, “अहिले पनि उडान नभएपछि अब सो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ ।”

उनीहरु मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दसैँमा जहाज उड्छ भनेर भुक्काइएको वर्षौं भएको छ । निर्वाचनको समयमा होडबाजीको दौड चले पनि अघिपछि कसैले पहल नगरेको स्थानीयवासीहरुको आरोप छ । विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास गरेका थिए । जग्गा अधिग्रहण र बजेट अभावका कारणले सुरुको सात/आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन । त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम सुरु भएन । शिलान्यासको नौ वर्षपछि २०७२ बाट विमानस्थलको नियमित काम सुरु भयो ।

रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दसैँसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आएका छन् । निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०/४५ प्रतिशत मात्र काम भएको थियो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले परीक्षण उडान भरेको थियो ।

सम्बन्धित् समाचार