गृहपृष्ठ Featured कपिलवस्तुमा राप्रपाका ९ उम्मेदवार चुनावी मैदानमा

कपिलवस्तुमा राप्रपाका ९ उम्मेदवार चुनावी मैदानमा

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ कपिलवस्तुमा ९ जनाको उम्मेदवारी दर्ता गरेको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।

जिल्लाका ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा गरी ९ वटै स्थानमा उम्मेदवारको मनोनयन दर्ता गरिएको राप्रपा कपिलवस्तुले जनाएको छ । कपिलवस्तु क्षेत्र नम्बर १ बाट राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले मनोनयन दर्ता गरेका छन् ।

रायमाझिले नेकपा एमालेका बलराम अधिकारी र माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेवसंग प्रतिस्पर्धा गर्ने छन् । अधिकारी र बलदेव पुरानै अनुहार भएकाले यस पटक आफुलाई जनताले जिताउने रायमाझिको दाबी छ । आम मतदाता गठबन्धन विरुद्धमा रहेकाले आफुलाई जित्न सहज हुने उनले बताए ।

राप्रपाबाट प्रदेश सभाको ‘क’ बाट भोजराज आचार्य र ‘ख’ बाट रोशन शाहाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभा–२ बाट सबिता शर्माले उम्मेदवारी दर्ता गराएको राप्रपा कपिलवस्तुले जानकारी दिएको छ । यस्तै यस क्षेत्रको प्रदेश सभा ‘क’ बाट गीतेन्द्रमणी शुक्ला र ‘ख’ बाट दुर्गा चौहानले मनोनयन दर्ता गरेको राप्रपाले जनाएको छ ।

प्रतिनिधि सभा–३ बाट राप्रपाका प्रकाश रजौरियाको मनोनयन दर्ता भएको छ भने प्रदेश सभा ‘क’ बाट कृष्ण प्रसाद पौडेल र ‘ख’ बाट जानकी प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले, कांग्रेस जस्ता ठूला दलमा तीब्र असन्तुष्टि रहेकाले आफहरुलाई फाईदा हुने राप्रपका उम्मेदवारले आँकलन गरेका छन् ।

सम्बन्धित् समाचार