सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ घर परिवार विस्थापित भएका छन्। ४१ परिवारका १ सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले बताए।
उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा सारिएको छ। जसमा ४ जना गर्भवती र ४ जना सुत्केरीसमेत रहेका छन्। सिंगो गाउँका केही घरहरु पहिराले भत्किएका छन्। केही घरहरु उच्च जोखिममा रहेका छन्। सिंगो गाउँ नै अन्यत्र सार्नु पर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताए।
विद्यालयमा बसेका पहिरो पीडितहरुलाई उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ। उद्योग वाणिज्य संघ अर्घाखाँचीले चामल, दाल, तेल, नुन लगायतका खाद्य सामाग्री पहिरो पिडितलाई हस्तान्तरण गरेको उद्योग वाणिज्य संघका महासचिव तुल्सी खनालले बताए।
पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले बताए। अर्घाखाँचीमा अविरल वर्षाका कारण खोलाले बगाएर १ जनाको मृत्यु भएको छ। १ जना बालक खोलाले बगाएर बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले बताए।
पहिरोले अर्घाखाँची जिल्लामा १ सय ११ घर परिवार विस्थापित भएका छन्। उनीहरुलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक स्थानमा बसोबासको व्यवस्था मिलाएको प्रजिअ घिमिरेको भनाइ छ।








