गृहपृष्ठ खबर बाणगंगामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाईदैं

बाणगंगामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाईदैं

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुमा लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग (उच्च ज्वरो) का बिरामी बढेपछि बाणगंगामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाईने भएको छ । बाणगंगा नगरपालिकाले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाई गर्ने अभियान चलाउने भएको हो ।

विहिबार भएको एकिकृत भेक्टरबर्न रोग सम्बन्धि स्वास्थ्यकर्मी, महिला स्वयमसेवीका तथा सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा सोबारे जानकारी गराईएको हो ।

यही असोज ३० गते आईतबारदेखि उक्त अभियान सुरु गरिने बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए । नगर प्रमुख, उपप्रमुखको नेतृत्वमा फिल्ड भिजिट गरेर उक्त अभियानलाई प्रभावकारी रुपमा संचालन गरिने उनले बताए ।

जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेवीका, टोल विकास समिति, सुरक्षा निकाय, पत्रकार लगायत सरोकारवाला सम्पुर्ण निकायको सहभागिता अभियान संचालन गरिने उनले बताए । अभियान कम्तिमा ५ दिन बढीमा ७ दिनसम्म संचालन गरिने उनले जानकारी दिए ।

उनका अनुसार लामखुट्टे खोज र नष्ट गर अभियानको पुर्व तयारीका लागी भोलिबाटै काम सुरु गरिने छ । घना बस्ती तथा मुख्य बजार क्षेत्रलाई अभियानले प्राथमिकता दिई काम गर्ने उनको भनाई छ ।

स्वास्थ्य कार्यालयका भेक्टर रोग कन्ट्रोल फोकल पर्सन उदय कुमार चौरासियाले दिउंसोमा टोक्ने लामखुट्टेबाट डेंगु संक्रमण हुने भएकाले शरीरका सबै भाग छोपिने कपडा लगाउन सुझाव दिए ।

कपिलवस्तुमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गर्न आवश्यक देखिएकाले जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप फोकल पर्सन उमेश चन्द्र घिमिरेले बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने उनले बताए ।

कपिलवस्तुमा हालसम्म एक सय ३८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार ६ सय ७० जनामा परिक्षण गर्दा एक सय ३८ जनामा डेंगुको संक्रमण पुष्टि भएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी थारु, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भूसालले डेंगुको संक्रमणलाई भयावह हुन नदिन नगरपालिका प्रतिवद्ध रहेको बताएका थिए । उनीहरुले बाणगंगामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सम्पुर्ण स्रोतसाधनको परिचालन गरि सफल बनाउने दाबी समेत गरे ।

सम्बन्धित् समाचार