पोखरा, असोज २८।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा प्रदेशका टिमले खराब प्रदर्शन गर्ने क्रम जारी छ।
शुक्रबार समूह ‘बी’ अन्तर्गत पोखरा क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिसविरुद्ध लुम्बिनी प्रदेश १५ रनमै अलआउट भयो।
पुलिसले दिएको ११३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.५ ओभरमा १५ रनमा अलआउट हुँदा ९७ रनले पराजित भयो।
लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। उसका लागि कप्तान सरस्वती जिएमले सबैभन्दा बढी ६ रन जोडेकी थिइन् भने सात ब्याटर शून्यमा आउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ७ विकेटको क्षतिमा ११२ रन जोड्यो। उसका लागि सम्झना खड्काले २९ रन र कविता जोशीले ४८ रन जोडे। बलिङमा लुम्बिनीका सुस्मिता भुषास र मनीषा रानाले दुई दुई विकेट लिए।
समूहमा पुलिसले लगातार तीन खेलमा जित निकालेर सेमिफाइनलमा स्थान बनाएको छ।








