काठमाडौं ।
मारियो पासालिक र एडेमोला लुकमनको गोलबाट एट्लान्टाले शनिबार राति सासउलोलाई २–१ ले हराउँदै इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ ।
पाहुना टोली सासउलोले ४१ औँ मिनेटमा जर्गोस केरियाकोपोलोसको गोलबाट अग्रता लिएको थियो । एट्लान्टाका पासालिकले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काए ।
दोस्रो हाफको पहिलो मिनेटमै लुकमनले गरेको गोल एट्लान्टाको जितमा निर्णायक बन्यो । एट्लान्टाको दुवै गोलमा ब्रान्डन सोपीले अवसर सिर्जना गरिदिएका थिए ।
जितसँगै एटलान्टा १० खेलबाट २४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । जुन दोस्रो स्थानको नेपोलीभन्दा एक अंकले माथि हो । तर, एट्लान्टाले एक खेल बढी खेलेको छ । पराजित सासउलो १२ अंकका साथ नवौँ स्थानमा छ ।
गएराति नै डुसान भ्लाहोभिकको गोलमा युभेन्टसले सहरी प्रतिद्वन्द्वी टोरिनोलाई १–० ले हराएको छ । २२ वर्षे सर्वियाका फरवार्ड भ्लाहोभिकले ७४ औँ मिनेटमा गरेको गोल युभेन्टसको जितमा निर्णायक बन्यो । जारी सिजन भ्लाहोभिकको यो छैटौँ गोल हो ।
जारी सिजन १० खेलमा युभेन्टसको यो चौथो जित हो । युभेन्टस गत मंगलबार च्याम्पियन्स लिगमा मक्काबी हाइफासँग २–० ले पराजित भएको थियो । पराजित टोरिनो ११ अंकका साथ ११ औँ स्थानमा छ ।








