वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका प्रवक्ता विष्णु प्रसाद पौडेलले डेंगुका बिरामीको संख्या बढ्न नदिन नगर प्रतिवद्ध रहेको बताएका छन् । वडा नम्बर २ का वडाध्यक्ष समेत रहेका पौडेलले ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानलाई प्रभावकारी बनाउँदै डेंगुका विरामी बढ्न नदिन नगर प्रतिवद्ध रहेको बताए । उनले नगरपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर २ को वडा कार्यालय पिपरामा सोमबार आयोजना गरेको ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानको कार्यक्रममा यस्तो बताएका हुन् । पिपरा अस्पतालमा दिनहुँ उच्च ज्वरोका विरामी आउने गरेको र त्यसमध्ये २÷३ जनामा डेंगु पुष्टि हुने गरेको उनले बताए ।
जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेवीका, टोल विकास समिति, सुरक्षा निकाय, पत्रकार लगायत सरोकारवाला सबै एकताबद्ध भएर लागे डेंगुको संक्रमणबारे आम जनसमुदायलाई सचेत गराउन सकिने उनको भनाई छ ।
घना बस्ती तथा मुख्य बजार क्षेत्रलाई अभियानले प्राथमिकता दिई काम गरेको उनले बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने उनले बताए । पिपरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी देवी श्रेष्ठले दिउंसोमा टोक्ने लामखुट्टेबाट डेंगु संक्रमण हुने भएकाले शरीरका सबै भाग छोपिने कपडा लगाउन सुझाव दिए ।
पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका यस्ता अभियान प्रभावकारी हुने उनले बताए ।

बाणगंगामा लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग (उच्च ज्वरो) का बिरामी बढेपछि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानलाई तीब्रता दिएको छ । नगरपालिकाले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने र बासस्थान सरसफाई गर्ने अभियान चलाएको हो ।
आईतबार नगरपालिकाका ११ वटै वडामा वडाध्यक्षको नेतृत्वमा अभियान सुरु भएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
वडा नम्बर २ का वडा सचिव नरेन्द्र पोख्रेलको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।








