गृहपृष्ठ Featured स्कटल्यान्डविरुद्ध आयरल्यान्डको रोमाञ्चक जित

स्कटल्यान्डविरुद्ध आयरल्यान्डको रोमाञ्चक जित

आयरल्यान्डले ट्वान्टी-२० विश्वकपमा बुधबार स्टकल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । यो जितपछि आयरल्यान्डले प्रतियोगिताको सुपर–१२ चरणमा प्रवेशको सम्भावनालाई कायम राख्यो । प्रारम्भिक चरणको समूह ‘बी’ मा जिम्बावेविरुद्ध पहिलो खेल गुमाएको आयरल्यान्डले यस जितसँगै प्रतियोगितामा ‘कमब्याक’ गरेको छ ।

जितका लागि १ सय ७७ रन पछ्याएको आयरल्यान्डले चार विकेट गुमाएर १९ ओभरमा १ सय ८० रन बटुलेको थियो । उसका लागि कर्टस क्याम्पफर जर्ज डकरेलले नटआउट शतकीय साझेदारी गरे । क्याम्पफरले ३२ बलमा ७२ रन बनाए । उनले सात चौका र दुई छक्का प्रहार गरे । यस्तै डकरेलले २७ बलमा ३९ रन बनाए ।

आयरल्यान्डले ६१ रन बनाउँदासम्म चार विकेट गुमाएको थियो र ९ ओभरभन्दा बढीको खेल सकिसकेको थियो । त्यसयता क्याम्पफर र डकरेलले आक्रामक भएर निर्णायक इनिङ्स खेले । उनीहरूले पाँचौ विकेटका लागि १ सय १९ रनको साझेदारी गरे । ट्वान्टी-२० विश्वकपमा आयरल्यान्डले जितका लागि पछ्याएको यो नै सबैभन्दा ठूलो स्कोर हो ।

टस जितेर पहिले ब्याटिङमा आर्लेको स्कटल्यान्डले माइकल जोन्सको अर्धशतकको मदतले पाँच विकेटमा १ सय ७६ रन बनाएको थियो । जोन्सले ५५ बलमा ८६ रन बनाए ।

उनले ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै कप्तान रिची बेरिङटनले २७ बलमा ३७ रनको योगदान दिए । आयरल्यान्डका लागि क्याम्पफरले दुई विकेट लिए ।

सम्बन्धित् समाचार