गृहपृष्ठ Featured दाङमा १२ मतदानस्थल अति संवेदनशील

दाङमा १२ मतदानस्थल अति संवेदनशील

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङमा करिब आठ हजार जनशक्ति परिचालन हुने भएका छन् । जिल्लामा तीन प्रदेश र छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक सय ५३ मतदानस्थल र सय मतदान केन्द्र छन् ।

 

निर्वाचन सुरक्षा समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लाका सबै मतदान केन्द्रमा चार हजार बढी सुरक्षाकर्मी र तीन हजार सात सय २० कर्मचारी खटिन लागेको बताए ।

मतदान अधिकृतदेखि सहायकस्तरका कर्मचारी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन् । दाङमा चार हजार सुरक्षाकर्मीमध्ये एक हजार नौ सय २० म्यादी प्रहरी परिचालन हुँदैछन् ।

 

सुरक्षा संवेदनशीलतालाई हेरेर मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिने छन् । दाङका एक सय ५३ मतदानस्थलमध्ये १२ मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । जिल्लाको ग्रामीण बस्तीमा रहेका मतदानस्थल सुरक्षाका रूपमा अति संवेदनशील पहिचान गरिएको छ ।

बबई गाउँपालिका, राप्ती गाउँपालिकामा बङ्गलाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका मतदानस्थल अति संवेदनशील मानिएको उनले बताए । अति संवेदनशील मतदान केन्द्रमा तीन प्रहरी र नौ म्यादी प्रहरी, संवदेनशील मतदान केन्द्रमा तीन प्रहरी र छ म्यादी प्रहरी यस्तै सामान्य मतदान केन्द्रमा तीन प्रहरी र पाँच म्यादी प्रहरी परिचालन हुने रेग्मीले बताए ।

 

जिल्लाको एक सय ३० संवेदनशील र ११ वटा मतदानस्थल सामान्य रहेको रेग्मीले जानकारी दिए । उनले अति संवेदनशीलमा राखिएको भए पनि सोहीअनुसार सुरक्षाकर्मी खटिने र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरण भएको जानकारी दिए ।

सम्बन्धित् समाचार