पछिल्ला केही महिना देश सांस्कृतिक पर्वमय बन्यो । नेपालीको महान् चाड दसैँ, तिहार र छठले क्रमशः असोज र कात्तिक महिना पर्वमय बन्यो । यी चाड सकिएलगत्तै नेपाली समाजलाई अर्को पर्वले छोप्दै छ । त्यो हो, विश्वकप फुटबल । त्यसो त यही समय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल पनि छ । विश्वव्यापी रूपमा सबैभन्दा लोकप्रिय खेलको सबैभन्दा ठूलो प्रतियोगिता हो, फिफा विश्वकप । जसले आगामी चार वर्षका लागि प्रतिस्पर्धी ३२ मध्ये जुन कुनै एक टिमलाई विश्व च्याम्पियनको ताज पहिर्याउनेछ । त्यसैले चुनावी सरगर्मीले नेपाली नागरिकलाई जति आफूतर्फ तान्नेछ त्यति नै फुटबलप्रेमी दर्शकको ध्यान विश्वकप फुटबलले खिच्नेछ ।
नेपालमा पनि फुटबलको लोकप्रियता सबैभन्दा बढी छ । त्यसैले विश्वकप फुटबलले नेपालमा पनि उल्लासपूर्ण वातावरण सिर्जना नगर्ने कुरै भएन । उसै पनि नेपालमा फुटबलको संस्कार पुरानो र समृद्ध छ । हुन त कतार विश्वकपमा नेपालको आफ्नै टिम छैन । त्यसो त नेपालको त्यो गौरवमय इतिहास पनि छैन । तर, भविष्यमा पनि विश्वकपमा नेपालको उपस्थिति होला भन्नेमा खासै उत्साहपूर्ण आशा गर्न सकिन्न । यद्यपि, खेलप्रेमी मात्र नभई सामान्य मानिसमा समेत चासो जगाउने भएकाले कतार विश्वकप नेपाली समर्थकका लागि पनि विशेष छ ।
यसपटकको विश्वकप कतारमा मंसिर ४ गतेबाट सुरु हुनेछ । त्यतिनै बेला नेपालमा संघ र प्रदेशको चुनाव पनि छ । देश जति चुनावमय बनेको छ । त्यही रफ्तारमा विश्वकपमय पनि बन्दै छ । झन् एसिया महादेशमै हुन लागेकाले पनि यसपटक नेपाललाई विश्वकपले विशेष रुपमा छोएको छ ।
मंसिर ४ गते इक्वेडर र आयोजक कतारबीचको खेलबाट सुरु हुने विश्व फुटबलको कुम्भमेला सारा देशलाई फुटबलको ज्वरोमा तताउँदै पुस ३ सम्म चल्नेछ । त्यसैले त विश्वकप नजिकिँदै गर्दा यसबारे विश्लेषण, चर्चा, आँकलन र टिमको समर्थन हुन थालिसकेको छ ।
स्वाभाविक रूपमा राजनीनिज्ञ, सेलिब्रिटी र विभिन्न पेसाकर्मीका लागि पनि विश्वकप फुटबल दुई महिनासम्म चासो र चर्चाको पहिलो विषय बन्नेछ । धेरैले मनपर्ने टिमको समर्थनमा सामाजिक सन्जालभर आफ्नो धारणा पोस्ट्याउँछन् ।








