बुटवल ।
गृहमन्त्री बालकृष्ण खाँणले मोतीपुर औद्योगिक क्षेत्रभित्रका कुनै स्थानीयको घरबास नउठ्ने गरी बस्ती नभएको स्थानमा मात्रै उद्योग खोल्ने बताएका छन् ।
निर्माणाधीन औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर बस्ती नभएको स्थानमा मात्रै उद्योग खोल्ने उनको भनाइ थियो । सोमबार मोतीपुर औद्योगिक क्षेत्रभित्र पर्ने रुपन्देहीको सियारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नै उनले यस्तो बताएका हुन् ।
‘मोतीपुर औद्योगिक क्षेत्रभित्र बसेका कोही पनि छोडेर हिँड्नु पर्दैन । क्षेत्रफल घटाएर बस्ती बेगरको स्थानमा मात्रै उद्योग विस्तार गर्नेछौं,’ गृहमन्त्री खाँणले भने ।
यस्तै उनले फेरि नयाँ डीपीआर र नक्शांकन गरेर औद्योगिक क्षेत्रको शिलान्याश गर्ने बताए । ‘हामी जनतालाई पिरमर्कामा पारेर विकास गर्दैनौं,’ उनले भने, ‘पहिले जनताको बसोबास सुनिश्चित गरेर मात्रै विकास गर्नेछौं ।’
रुपन्देहीको मोतीपुरमा २०७२ चैत १ मा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियोे । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनीक जग्गामा ओद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।