गृहपृष्ठ Featured कर्णालीमा रक्सी बेच्न निषेध, १४ हजार सुरक्षाकर्मी परिचालन

कर्णालीमा रक्सी बेच्न निषेध, १४ हजार सुरक्षाकर्मी परिचालन

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी  र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार आठ सय सात जना सुरक्षाकर्मी खटाइएको हो । प्रहरीबाट मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती हुने छ ।

प्रवक्ता श्रेष्ठले भने, ‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ ।’

प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतका जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले बताए ।

कर्णालीमा सुरक्षाका दृष्टिकोणले दुई सयभन्दा धेरै मतदानस्थल अति संवेदनशील मानिएका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा आवश्यक तयारीलाई तीव्र पारिएको  छ । प्रदेशका विभिन्न जिल्लास्थित निर्वाचन कार्यालय निर्वाचन पूर्वका काममा जुटेका छन् । कर्णालीमा १० लाखभन्दा धेरै मतदाता रहेका छन् ।

मदिरा बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालयले मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचालाई मध्यनजर गर्दै मदिरा बिक्री वितरणमा रोक लगाएका छन् । आफ्नो आफ्नो जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि मदिरा बिक्री वितरणमा रोग लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

सुर्खेतमा पनि शुक्रबारदेखि मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । यही कात्तिक २५ गतेदेखि लागू हुने गरी निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्णरुपमा रोक लगाउने निर्णय गरेको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार