लुम्बिनी प्रदेशमा बहालवाला ९ जना मन्त्री चुनावी मैदानमा होमिएका थिए । ती मध्ये ५ जनालाई मात्र जनताले पत्याएका छन् । ४ जना संसदबाट ‘आउट’ भएका छन् । संघका तीन ३ जना तथा प्रदेशका ६ जना मन्त्रीहरू चुनावमा होमिएका थिए । त्यसमा संघमा सहरी विकास मन्त्री मेटमणि चौधरीलाई मात्र मतदाताले पत्याएका छन् ।
त्यस्तै, प्रदेशमा शिक्षा मन्त्री बसीउद्दिन खाँन, सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री इन्द्रजित थारू, ऊर्जा तथा सिँचाई मन्त्री वीरबहादुर राना पुनः निर्वाचित भएका छन् ।
जसलाई फेरि जनताले पत्याए
लुम्बिनी प्रदेशबाट संघबाट तीन मन्त्री भए पनिसहरी विकास मन्त्री मेटमणि चौधरीलाई मात्र जनताले फेरी पत्याएका छन् । दाङ क्षेत्र नम्बर १ बाट एमालेकी शान्ता चौधरीलाई पराजित गर्दे मेटमणि फेरि संसद्मा जाने बाटो खोलेका छन् । मेटमणिले २६,५६३ मत ल्याउँदा एमालेकी शान्ताले २१,४७९ मत ल्याएकी छन् ।
यस्तै लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्मा ६ जनामध्ये ४ जनाले चुनाव जितेका छन् । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रजित थारु दाङ क्षेत्र नम्बर १ को (क)तर्फ प्रदेशसभा सदस्य पदमा जितेका छन् । उनी २०७४ सालमा पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए ।
उता नेपाली काँग्रेसका तर्फबाट पर्यटन, ग्रामीण विकास तथा सहरी विकास मन्त्री डिल्ली चौधरी दाङ–३ (क) बाट विजयी भएका छन् । उनी पनि २०७४ सालमा सोही क्षेत्रबाट चुनाव जितेका थिए । त्यसबेला राप्ती क्षेत्रबाट उनी आफ्नो पार्टीबाट एक्लै प्रदेश सभामा उपस्थिति जनाएका थिए ।
शिक्षा मन्त्री बसीउद्दिन खाँनलाई रुपन्देही–४(ख) मा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले पाल्पा–२(क) का जनताले फेरि पत्याएर लुम्बिनी प्रदेश सभा जाने बाटो खोलिदिएका छन् । २०७४ सालमा वीर बहादुर राना समानुपातिक सांसद बनेका थिए भने खान सोही क्षेत्रबाट जितेका थिए ।








