आम निर्वाचन २०७९ मा प्रदेशसभातर्फ सहभागी नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभातर्फको समानुपातिकमा पछिल्लो विवरण अनुसार दुई लाख २० हजार १३९ मत पाएको छ । प्रदेशसभा निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नभएका कारण ठुला दलले समानुपातिकतर्फ परम्परागत प्रतिस्पर्धी पाए। तर प्रतिनिधिसभातर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टीकै उपस्थितिका ती दलले प्रदेशसभाको समानुपातिकतर्फको मतको तुलनामा कम मत पाएका छन् ।
लुम्बिनी प्रदेशसभाको समानुपातिकतर्फको मतको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा तीन दलबाहेक सबैजसो दलको मत कम देखिएको छ । लोसपा नेपाल र नेपाली जनता दलबाहेक सबैजसो दलले प्रदेशसभामा प्राप्त गरेको समानुपातिक मतको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ कम मत पाएका हुन् । तर लोसपा नेपाल, नेपाल मजदुर किसान पार्टी र नेपाली जनता दलले भने प्रदेशसभाको समानुपातिकतर्फको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा मत बढाएका छन्, जसले गर्दा यी तीन दललाई ‘घण्टी’ चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले प्रतिनिधिसभातर्फ खासै असर नपरेको देखिन्छ ।
लोसपा नेपालले लुम्बिनी प्रदेशसभाको समानुपातिकतर्फ ३७ हजार ६३१ मत पाएको छ भने प्रतिनिधिसभातर्फको समानुपातिकमा ४६ हजार ३११ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले लुम्बिनी प्रदेशसभातर्फ समानुपातिकमा एक हजार ६५९ मत पाउँदा प्रतिनिधिसभातर्फको समानुपातिकमा उक्त मतमा समेत बृद्धि गराउँदै एक हजार ९९३ मत पाएको छ ।
यस्तै, नेपाली जनता दलले प्रदेशसभाको समानुपातिकतर्फ एक हजार ४१९ मत पाएकोमा प्रतिनिधिसभातर्फ एक हजार ५५३ मत पाएको छ । बाँकी सबैजसो दलले प्रदेशसभाको समानुपातिकतर्फ प्राप्त गरेको मतको तुलनामा प्रतिनिधिसभातर्फको समानुपातिकतर्फ प्राप्त गरेको मत कम छ । जसका कारण उनीहरुलाई ‘घण्टी’ को उपस्थिति भारी परेको अनुमान गर्न सकिन्छ ।








